पर्यटकीय केन्द्र र पदमार्गहरुको पहिचान

पर्यटकीय केन्द्र र पदमार्गहरुको पहिचान


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्नकालागि मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन गरेको छ।

पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालीयन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रा लि. को सहजीकरणमा मेलम्ची नगरपालिकामा पर्यटन पदमार्गको नकसाङकन गरिएको प्रा लि. का प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले जानकारी दिए।

गत मंसिर ६ देखि १२ गतेसम्म इटालीका पर्यटन विज्ञ र मेलम्ची नगरको ‘वोर्किङ्ग ग्रुप’ मिलेर पर्यटकीय आकर्षणका केन्द्र र पदमार्गहरुको नक्साङ्कन गरिएको हो। उक्त समयमा मेलम्ची नगरपालिकाको वोर्किङ्ग ग्रुपलाइ ट्रेनिंग समेत दिएको थियो। उक्त कार्यक्रम सफल बनाउन मेलम्ची पर्यटन विकास समितिका सदस्य बालकृष्ण देउजाको भूमिका महत्वपुर्ण रह्यो। देउजा राजनीति संगसंगै मेलम्ची नगरमा पर्यटन र कृषिको बिकासमा सक्रिय छन्।

यस क्रममा काठमाडौंबाट २२ किमीको दुरीमा रहेको भोटेचौरको पातले छाँगो, चमेरे गुफा लगायत अन्य चारवटा महत्वपुर्ण गुफाहरुको नक्साङ्कन गरिएको छ। नगरपालिकाको तपचुली डाँडा अर्को आकर्षणको केन्द्र हो। यहाँ इलामको कन्याम बिर्साउने चिया बगान रहेको छ। चिया बगानबाट केहि समयको यात्रा पछि हैबुंग हुदै चिसापानी डांडामा पुग्न सकिन्छ। चिसापानीबाट चारैतिर मनोरम हिमालका दृश्यहरु देख्न सकिन्छ।

त्यसपछि थाना भन्ज्याङ हुँदै थाना भन्ज्याङगढी पुग्न सकिन्छ। गढी पृथ्वीनारायण शाहले युद्ध लडेको ठाँउ हो। जहाँ त्यतिबेला सेनाहरुले सुरक्षा किल्ला कसरी निर्माण गर्थे भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ। यो गढी संरक्षणको लागि नगरपालिकाले कुनै पनि कसुर बाकी नराख्ने र चाडै नै यसलाई पुरातत्व बिभागसंग समन्वयन गरी ऐतिहासिक कुराको खोजि गरिने मेलम्ची नगरका मेयर डम्बर अर्यालले जानकारी दिए ।

त्यसैगरी हिन्दु र बौद्धको साझा धौले मन्दिर पनि पहिचानमा परेको छ। जहाँ बुद्ध जयन्ति र जनै पुर्णिमामा ठूलो मेला लाग्छ। यसैगरी ज्यामिरेको गुफा डाँडा अर्को आकर्षणको केन्द्र हो। जहाँ निकट भविष्यमै जलवायु अन्तराष्ट्रिय सम्मेलन समेत आयोजना हुने चर्चा छ।

नगरपालिकाले पर्यटकीय केन्द्रको अलावा पर्यटकीय पदमार्गको नक्साङ्कन गरेको छ। वोर्किङ्ग ग्रुप का टोलि, SAT का टिम, गरिमा भोयज को टिम र मेलम्ची नगरको टिम सहित स्थानीय टिमको सहभागितामा भोटेचौरको सुरक्षा डाँडाबाटबाट सुरु गरिएको पदयात्रा चमेरे गुफा ( तपचुली डाडा ( गुरुङ गाउँ हुँदै चिसापानी पुग्यो।  तेस्रो दिन पार्टी भन्ज्याङ ( थानाभन्ज्याङ) घौले डाँडा हुदै सिन्धुकोटमा पन्चे बाजासहित उक्त टोलीलाई स्वागत गरेको थियो।  सुलीकोट ( तालामाराङ ( माने भन्ज्याङ ) सिग्देल गाउँ एकिकृत बस्ती हुँदै मेलम्चीसम्मको पैदलयात्रा गरी नक्सांकन गरियो। यो पदमार्गको १०१ भनेर नामाकरण गरिएको छ।

अर्को पदमार्ग मेलम्ची ( गुफा ) चाङखुसम्म २०१ भनेर नामाकरण गरिएको छ। गुफा ( चाङखु) हुँदै प्रसिद्ध पर्यटकीय स्थल पाँचपोखरी जुगल हिमाल र दोर्जे लाक्पा हिमालको यात्रा गर्न सकिन्छ भने मेलम्चीबाट हेलम्बु, लाङ्गटांङ्ग रास्ट्रीय निकुन्ज हुदै लाङ्गटांङ्ग हिमालमा जान सकिन्छ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्याल सहितको टोलीले इटालीको (Trentino) प्रदेशको रोभेरेतो (Rovereto) नगरपालिकाको अध्ययन भ्रमण गरेका थिए। भ्रमणका क्रममा इटालीमा पर्यटनसम्वन्धी काम गरिरहेको संस्था (SAT) संग पर्यटन विकासका लागि सहयोग गरिदिन आग्रह गरेपछि पर्यटन पदमार्गको सम्भावनाको अध्ययनका लागि उक्त संस्थाबाट ९ जना पर्यटन विज्ञहरु नेपालमा आएका थिए ।

उनीहरुकै सहयोगमा र गरिमा भोयजको सहकार्यमा पदमार्गको नक्साङ्कन गरिएको हो। संगसंगै यो रुटमा GPS ट्रयाक पनि गरिएको छ। जसको कारणले नयाँ पर्यटकको लागि पनि सजिलै बाटो पहिचान गर्न सकिने छ । भने सबै रुटमा रातो र सेतो रंग लगाएको छ। यो इन्टर्नेशनल रुपमा बाटो पहिचान गर्ने चिन्ह हो । जसले स्वदेशी तथा बिदेशी पर्यटकलाई सहज हुने बालकृष्ण देउजाले जानकारी दिए  ।

नेपालका पर्यटकीय पर्यवेक्षण र प्रशिक्षण अन्तर्गत नयाँ ट्रेकिङ मार्गको म्यापिङ र पहिचान गरि स्थानिय पर्यटनमा फोकस गर्ने र मेलम्ची संगसंगै अन्य क्षेत्रमा पनि विकास गरिने SAT का प्रेसिडेन्ट अन्ना फंकिनी (Anna facchini) ले जानकारी दिए ।

Logo