निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी बन्दै : किन पोस्टरसँग त्रसित छ प्रहरी ?

निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी बन्दै : किन पोस्टरसँग त्रसित छ प्रहरी ?


काठमाडौँ

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ । निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो ।

‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने सरकारको निर्देशन थियो । तर त्यही दिन प्रदर्शनमा आएको समूहका १२ जनालाई नियन्त्रणमा लिएका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले भने, ‘यही बीचमा एक प्रहरीले पोस्टर पनि च्यातिदिएछन् । हामी घटनाको छानबिन गरी निर्मलाको पोस्टर च्यात्ने प्रहरीलाई कारबाही गर्छौँ । निर्मलाको पोस्टर च्यात्न प्रहरीलाई कुनै निर्देशन छैन ।’

उनले पोस्टर च्यात्ने प्रहरी को हो भनेर छानबिन भइरहेको, तर पहिचान हुन नसकेको बताए । आफैंले खटाएका प्रहरीको तस्बिर सार्वजनिक हुँदा पनि पहिचान गर्न नसक्ने प्रहरीबाट बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषी पत्ता लाग्लान् भनेर आशा कसरी गर्ने ? प्रश्न यो पनि छ । त्यस्तै, एकजना प्रहरीले आफूखुसी पोस्टर च्यातेको भनिए पनि पोस्टर च्यात्दै गरेका प्रहरीको फोटो देशका विभिन्न ठाउँबाट आउन थालेका छन् ।

नेपाल प्रहरीले एसिया प्यासिफिक समिटका पाहुनाको सुरक्षालाई ध्यान दिएर माइतीघरमा प्रदर्शनकारीमाथि बल प्रयोग भएको र त्यहीवेला पोस्टर च्यातिएको प्रतिक्रिया दिएको भएपनि समिटसँग सरोकार नै नभएको पोखरामा पनि पोस्टर च्यातिएका छन् । पोखरामा त बैदामका डिएसपी नवीन कार्कीले पोस्टर च्यातेर कच्याककुचुक पारेको तस्बिर प्राप्त भएको छ ।

यता समिटसँग कुनै सम्बन्ध नरहेको दाङमा पनि प्रहरीले पोस्टर टाँस्ने युवामाथि बल प्रयोग गरेको छ । मंगलबार घोराहीको तुलसीपुर चोकमा जम्मा भएका युवाहरूले निर्मलाको तस्बिरअंकित पोस्टर टाँस्न खोजेका थिए । तर प्रहरीले सीधै हस्तक्षेप गरेपछि धेरैबेर तनाव भएको थियो । आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo