खाडी पसेका नेपालीहरुमा देखिएको प्रमुख समस्याहरु

खाडी पसेका नेपालीहरुमा देखिएको प्रमुख समस्याहरु


कतिपय वाध्यता या सुरक्षित भविष्यको खोजीमा आफ्नो देश छाडेर परदेशमा बसोबास गरिरहेका व्यक्तिलाई ‘आप्रवासी’ भनिन्छ । यो हिसावले हेर्दा खाडी मुलुकमा रहेका नेपालीहरु सुरक्षित् भविष्यको खोजीमा रहेका आप्रवासी मध्ये पर्दछन । युद्दग्रस्त मुलुकबाट सुरक्षित् स्थानतर्फ सरेका व्यक्तिहरुलाई पनि आप्रवासी भन्ने गरिएको छ । तिनीहरु वाध्यात्मक अवस्थाका आप्रवासीहरु हुन् ।

खाडीको आप्रवासन जोखिम युक्त भएपनि यहाँ रहेका आप्रवासी नेपालीहरु अधिकांस सुरक्षित् रुपमा कार्यरत रहेको कुरा बिभिन्न अध्ययनहरुले देखाइरहेका छन् । खाडी मुलुकहरुले पनि आफ्नो देशमा रहेका आप्रवासीहरुको सुरक्षालाई बिशेष ध्यान दिएको पाइन्छ ।

आप्रवासीहरुको सुरक्षामा भन्दा खाडी मुलुकहरु आप्रवासीहरुबाट आफ्नो देशमा आइपर्ने सम्भावित समस्या प्रति धेरै गम्भीर भएको देख्न पाइन्छ । जस्तो कि अधिकांस खाडी मुलुकहरु सुरक्षित् रुपमा मादक पदार्थको ब्यापार गर्ने गर्दछन तर आप्रवासीहरु मध्ये कसले अथवा कुन स्तरको व्यक्तिले मादक पदार्थ सेवन गर्न पाउने भन्ने निश्चित नियम बनाएका छन् र तिनै व्यक्तिलाई मादक पदार्थ सेवन गर्ने अधिकार दिएका छन् जसबाट उनीहरुको देश र उनीहरुको संस्कृति पूर्णरुपमा सुरक्षित् रहेकोमा उनीहरु ढुक्क हुन सक्छन ।

खास गरि कमाइको अनुपात र कामको प्रकृति हेरेर त्यस्ता लाइसेन्सहरु जारि गर्ने गरिन्छ । मादक पदार्थमा मात्र नभई अन्य धेरै कुराहरुमा व्यक्तिको हैसियत हेरेर अनुमति दिने कानुन रहेको कुरा सबैको सामु प्रष्ट छ । जस्तै कमाइको अनुपात हेरेर परिवारसंग बस्न पाउने अनुमति । भिषाको प्रकृति हेरेर आफ्नो देश आउजाउ गर्न पाउने अनुमति लगायत धेरै बन्देज युक्त नियमहरु आप्रवासीहरुको लागि लागु गरिएको छ ।

 

कमाई र सामाजिक आर्थिक हैसियत अनुसारको सेवा सुविधा प्रदान गरिने यस्ता कतिपय नियमहरुका कारण पनि खाडीमा आप्रवासीहरु समस्याग्रस्त रहेको कुरा हामीले दैनिक देख्दै आइरहेका छौं ।

खाडीमा आइपुग्ने आप्रवासी कामदारहरुका केहि समस्या बारे यहाँ चर्चा गरौँ ।

सुरुवाती ऋण

बिदेशमा रोजगारी गरेर आफ्नो सुरक्षित भविष्य निर्माण गर्ने सुनौलो सपनाको खोजीमा खाडी मुलुक प्रवेश गरेका आप्रवासी नेपालीहरुको सुरुवाती समस्या भनेको ऋण हो । विदेश जानको लागि सरकारी ऋणको ब्यबस्था भए पनि रोजगारीमा जाने अधिकांश गरिव मजदुरहरु साहुसंग ऋण माग्न बाध्य छन् । त्यसरी साहुसंग लिएको ऋण तिर्नै नसकेर ऋणमा डुब्नु अथवा आफ्नो बार्षिक कमाइको ठूलो हिस्सा साहुको ऋणको ब्याज तिर्नुमा खर्च गर्न पर्ने अरवमा रहेका आप्रवासीहरुको प्रमुख समस्या हो ।

दलालको ठगी  

आप्रवासीहरुको समस्याको दोश्रो चरण भनेको मेनपावर व्यवसायीको ठगिलाई लिन सकिन्छ । वैदेशिक रोजगारीलाई समस्यामुक्त गर्ने अभिप्रायले सरकारले लागु गर्न चाहेको फ्री भिषा र फ्री टिकटको अवधारणाको विरोध गर्ने र उक्त कानुनलाई मिच्दै मजदुरबाट लाखौं रकम अशुल्ने मेनपावर संचालक र तिनीहरुसंग आवद्द दलालहरु आप्रवासी समस्याका प्रमुख कारक तत्वहरु हुन । कानुनले तोकेको भन्दा बढी रकम अशुल गरेर मजदुरलाई ऋणमा डुवाउनुमा यिनीहरुको प्रमुख भूमिका रहेको हुन्छ । सामाजिक संस्थामा पदासीन आप्रवाशी हरु नै गरिब मजदुर लाइ ठग्ने दलाल हरु रही आएको तथ्यांक कसैबाट लुकेको छैन । 

श्रम शोषण

तेश्रो चरणमा गन्तब्य मुलुकमा रोजगारदाता कम्पनीले गर्ने श्रम शोषण आप्रवासीहरुको अर्को समस्या हो । तोकिएको भन्दा फरक काम लगाउनु, तोकिएको समयभन्दा धेरै समय काम गर्न बाध्य पार्नु र तोकिएको समयमा तलव नपाउनु लगायतका समस्याहरु आप्रवासी कामदारहरुलाई आइपर्ने अरु समस्याहरु हुन् । प्राय: अशिक्षित र ‘अनस्किल्ड’ मजदुरहरु यस्ता समस्याबाट गुज्रिरहेको देख्न सकिन्छ ।  त्यसमाथि नेपाली आप्रवासी मालिकहरुद्वारा नेपाली आप्रवासी मजदुरहरुको श्रमको शोषण हुनु सबैभन्दा दुर्भाग्यको कुरा हुदै गईरहेको छ । 

स्वास्थ्य समस्या

आप्रवासीहरुको अर्को समस्या भनेको उनीहरुको स्वास्थ्य हो । घर परिवार र आफ्नो समाजबाट टाढा रहेका मजदुरहरु भावनात्मक रुपमा पनि कमजोर भएका हुन्छन । साना साना स्वास्थ समस्याको कारण गम्भीर अवस्थामा पुगेका कैंयौ आप्रवासीहरु भेटिन्छ प्रवासमा । गम्भीर रोग लागेर थला परेका भन्दा साधारण रोगको पहिचान नभएको कारण अफ्ट्यारो अवस्था बाट गुज्रनु परेका मजदुरको पिडा भयावह रहेको छ । 

नेपालमा जस्तो खाडी मुलुक हरुमा “जनस्वास्थ्य” को अवस्था सर्वसुलभ छैन । बिधि या नियमको परिधिमा बाँधिएको यहाँको स्वास्थ्य सेवा आफैमा यौटा जटिल प्रक्रिया हो ।  नेपालमा जतासुकै जो सुकै औषधि पसलेहरुले बिमारी जाँचेर औषधि दिएर बिमारी निको पार्ने पद्दतिमा बानी परेका नेपाली आप्रवासी हरुलाई यहा डाक्टर भेट्नै हम्मे हम्मे पर्छ । 

डाक्टर भेटिसकेपछि आइपर्ने कम्युनिकेसनको (भाषागत) समस्याले गर्दा उपचार झन् असहज भएको महसुस गर्न सकिन्छ ।  हुन त साना साना समस्याहरुमा समेत तुरुन्तै एम्बुलेन्स पठाएर बिमारीको उद्दार गर्ने यहाको स्वास्थ्य सेवा संसार मै उत्कृष्ट र अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवा हो तर त्यो सेवाबाट कुन तप्काका आप्रवासीहरु बढी लाभान्वित छन् ।  त्यो भने बहसकै बिषय हुन सक्छ। ट्रमा अथवा अति आपतकालीन अवस्थामा बाहेक मजदुर बस्तीमा बसोबास गर्ने आप्रवासीहरुलाई साधारण ‘बिसन्चो’ भएको अवस्थामा यहा उपचार पाउनु असम्भव जस्तै छ । 

मनोवैज्ञानिक समस्या

खाडीमा रहेका आप्रवासीहरुमा साधारणदेखि गम्भीर प्रकृतिकासम्म मनोबैज्ञानिक समस्याहरु देखिन्छन ।  घर परिवारबाट टाढा हुने बाध्यता आइपरेपछि त्यसले निम्त्याएको “होम सिक” स्तरको मनोबैज्ञानिक प्रभाव र भर्खर बिहे गरेर खाडी प्रवेश गरेका आप्रवासीहरुमा देखिने गम्भीर किसिमका यौन बिचलनहरु समेत मनोबैज्ञानिक समस्या अन्तर्गत पर्दछन । 

त्यति मात्र नभएर काम राम्रो नपर्नु, अरु साथीले जस्तो पैसा बचाउन नसक्नु अनि नेपालबाट परिवारले समेत धेरै प्रगति गर्न नसकेको असन्तुष्टि ब्यक्त गरिरहनु जस्ता कारणहरुले आप्रवासी युवाहरुमा गम्भीर प्रकृतिका मानसिक बिचलनहरु समेत देखा पर्ने गरेका छन् ।  त्यस्ता मानसिक रुपमा बिचलित युवा हरुले आत्महत्या समेत गर्ने गरेका प्रसस्तै उदाहरण हामी समक्ष छन् । 

यी माथि उल्लेखित समस्या भनेका साधारण मजदुर आप्रवासीहरुमा आइपर्ने समस्याहरु हुन् ।  यीभन्दा बाहेक पनि धेरै समस्याहरु छन् जसको कारण आप्रवासीहरु प्रभावित भएका हुन्छन ।  खाडी मुलुकमा ब्यबसाय गर्ने आप्रवासीहरुका पनि आफ्नै आफ्नै समस्याहरु छन् ।  कतिपय ब्यबसायीहरु आर्थिक समस्याको कारण जेल समेत परेका छन् र कतिपय कानुनी जटिलताको कारण खाडी मुलुक छाडेर नेपाल फर्कन नसक्ने अवस्थामा समेत पुगेका छन् । 

गैह्र आवाशीय नेपाली संघले आप्रवास समस्या समाधान गर्नको खातिर समिति बनाएको छ र खाडी मुलुकहरुमा आफ्ना प्रतिनिधिहरु पनि चयन गरेको छ । यो अवस्थामा अब उक्त समितीले आप्रवासी दाजुभाई हरुको समस्या समाधानका खातिर कस्ता किसिमका कार्य योजनाहरु ल्याउछ त्यो सबैभन्दा प्रतिक्षाको बिषय हो ।  समितिले सबैभन्दा पहीला गर्नुपर्ने काम भनेको श्रम गर्नको लागि लाखौं रुपैयाँ तिरेर खाडी मुलुक आइपुग्ने जुन प्रचलन छ त्यसमा रोक लगाउनु आवस्यक देखिन्छ ।

त्यसरी मजदुरबाट रकम असुल्ने काममा एनआरएन भित्रै रहेका र उच्च ओहदामा पदासीनहरु नै संलग्न रहेको आरोप समेत लाग्दै आएको अवस्थामा आफु भित्रको सुद्दिकरण सबैभन्दा पहिला गर्नुपर्ने तथ्य कसैबाट लुकेको छैन । 

लाखौँ रुपिया लिएर खाडीमा मान्छे ल्याउने दलालहरु खाडीमै रहेका सामाजिक संस्थाहरुमा उच्च तहमा पदासीन छन् । त्यसरी उच्च सामाजिक हैसियत बनाएर बसेका दलाललाइ सरकारी नियमभित्र रहेर काम गर्न लगाई उनीहरुलाई तह लगाउने काम गर्नु आवस्यक छ । त्यसो गर्न सकियो भने मात्र आप्रवासी मजदुरहरुको पहिलो र दोश्रो नम्बरको (सुरुवाती ऋण, मेनपावर दलालको ठगी) समस्या समाधान हुनेछ साथै प्रारम्भिक समस्याहरुबाट मुक्त आप्रवासीहरुमा अन्य समस्याहरु न्युन हुन जानेछन भन्ने अनुमान गर्न सकिएला । 

आप्रवासीहरुको समस्या समाधान गर्न संस्थागत सुद्दिकरण सबैभन्दा पहिलो आवश्यकता हो । संस्थागत सुद्दिकरणलाई प्राथामिकतामा राखियो भने श्रम शोषणको समस्यामा पनि आप्रवासी समस्या समाधान समितिले प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने कुरामा बिश्वस्त हुन्न सकिन्छ ।

Logo