काठमाडौं, १४, कात्तिक
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । "/>

आज हरिबोधिनी एकादशीः तुलसीको विशेष पूजा गरि मनाइने

आज हरिबोधिनी एकादशीः तुलसीको विशेष पूजा गरि मनाइने


काठमाडौं, १४, कात्तिक
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी देखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।  आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँके शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
रासस

Logo