चुनाव विथोल्न खोज्ने दुई माओवादी (विप्लव) कार्यकर्ता पक्राउ

चुनाव विथोल्न खोज्ने दुई माओवादी (विप्लव) कार्यकर्ता पक्राउ


गौशाला (महोत्तरी), ३० भदौ ।

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विप्लव) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताएका छन् ।

लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरेका छन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताए ।

बाढीबाट जोगाउनेले पाउँछन्, दलितको भोट

रातो खोलाको बाढीबाट प्रत्यक्ष मारमा पर्ने गरेको जलेश्वर नगरपालिका वडा नम्बर ६, ७ र ८ का सयौंँ दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

ती वडामा बसोबास गर्ने खत्वे, मुसहर, चमारलगायतका दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएपछि विभिन्न दलका उम्मेदवार अहिले त्यो बस्तीमा पुगेर मत माग्न सक्रियता देखाउन थालेका छन् ।

जिल्लाको महादेवपट्टी, बखरी, रतवारा, बजराही र धबौली गाउँका सयौं दलित वर्षेनी रातो खोलामा आएको बाढीबाट भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ ।

जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवारका लागि मत माग्न बस्तीमा आउने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक, राप्रपालगायतका राजनीतिक दल र विभिन्न स्वतन्त्र उम्मेदवारसँग उनीहरुले एउटै माग राख्दै आएका छन्, बाढीबाट जोगाउने प्रक्रिया अगाडी बढाउने ।

उनीहरुले रातो नदीबाट हुने गरेको धनजनको क्षति रोक्ने, रातो नदीमा पक्की बाँध बनाउने, तटबन्ध बनाउने र रातो नदीलाई जनताको सिँचाइ तथा अन्य किसिमले उपयोगी बनाउन मद्दत गर्ने व्यक्तिलाई मात्रै भोट हाल्ने बताउँछन् ।

गत साउन महिनाको अन्तिमसातामा मात्रै रातो नदीमा आएको बाढीबाट जलेश्वर नगरपालिकामा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बाढीबाट करोडौंँको धनमाल र धानखेतीमा क्षति पुगेको हुँदा रातो नदीको बाढीबाट जोगाउनेले मात्रै हाम्रो भोट पाउने उनीहरु बताउँछन् । रासस

Logo