राष्ट्र शान्तिका लागि एक महिने कोटी होम

राष्ट्र शान्तिका लागि एक महिने कोटी होम


काठमाडौँ, २९ असार । राष्ट्र शान्ति र मानव कल्याणको कामना गर्दै गोकर्णेश्वर महादेव मन्दिरमा एक महिने कोटी होम महायज्ञ सुरु भएको छ । 

महायज्ञमार्फत समस्त पितृ उद्धार, भूमि पूजन र भविष्यका कर्णधार बालबालिकाको सुस्वास्थ्य एवम् दीर्घायुको संकल्प गरिएको आयोजक संस्था ओम बडिमालिका सनातन धर्म नेपालले जनाएको छ । असार २५ गते गुरु पूर्णिमाका दिन सुरु भएको महायज्ञ साउन ३० गते श्रीकृष्ण जन्माष्टमीमा पूर्णाहुति गरी समापन गरिने आयोजक समितिका संयोजक एवम् गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

एक महिनामा २१ जना ब्राह्मणले एक करोड २६ लाख पटक (सवा करोड) हवन गर्ने समितिले जनाएको छ । बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हवन हुने गरेको छ ।

साउन ५ गतेदेखि पण्डित ऋषिराम पौडेलले श्रीमद्भागवत र शिव पुराण एवम् हिमवत्खण्डको नेपाल माहात्म्यमा आधारित भएर कथावाचन गर्नुहुने समितिका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो । 

महाकाली माताको संकल्पमा सुरु भएको कोटी होम महायज्ञमा राष्ट्र शान्तिको संकल्पले दैनिक रुद्राभिषेक र सप्तशती चण्डी पाठ पनि भइरहेको छ । रासस 

Logo