लन्डन भवन आगलागीमा ६ को मृत्यु, ५० बढी घाइते

लन्डन भवन आगलागीमा ६ को मृत्यु, ५० बढी घाइते


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३१ जेठ ।

बेलायतको राजधानी लन्डनमा एक २४ तले आवासीय भवनमा भएको आगलागीमा परेर बुधबार पाँचबजेसम्म ६ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिम लन्डनस्थित लाटिमर रोडमा रहेको ग्रेनफेल टावर नामक उक्त भवनमा १२० फल्याट थिए र यो भवन सन् १९७४ मा बनेको थियो । यसलाई दुई वर्ष लगाएर गत वर्ष २०१६ मा मात्र करिब एक करोड पाउन्ड खर्च गरेर मर्मत गरिएको थियो ।

प्रहरीले जनाएअनुसार, आगलागी सुरु हुँदा भवनभित्र करिब ६०० मानिस थिए । नराम्ररी जलिसकेको भवन कुनै पनि ढल्ने हो कि भन्ने भय व्याप्त भएको छ ।

आगो लागेको सूचना स्थानीय समयअनुसार गत मंगलबार राती नै सवा एक बजे प्राप्त भएको थियो । आगो निभाउनका लागि ४० भन्दा बढी दमकल र २०० दमकलकर्मीहरूलाई लगाइएको छ । उनीहरू आगो निभाउनका लागि दशौँ तलासम्म पानी फालिरहेका छन् ।

आगो कसरी लागेको हो भन्ने निश्चित कारण थाहा नभए पनि सबभन्दा माथिल्लो तलामा टर्च वा केही बालेको उज्यालो जस्तो देखिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

Logo