ओलीविरुद्धको १९ पेजको ‘डकुमेन्ट’ ‘बमबार्ड द हेडक्वार्टर’ : प्रचण्ड

ओलीविरुद्धको १९ पेजको ‘डकुमेन्ट’ ‘बमबार्ड द हेडक्वार्टर’ : प्रचण्ड


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा देखेपछि आफूले प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको ‘डकुमेन्ट’ लेखेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित भरत ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले ‘डकुमेन्ट’ लेखनलाई ओली प्रवृत्तिविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ भएको बताए ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाभित्र अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएपछि पत्रयुद्ध नै चलेको थियो । प्रचण्डले माधवकुमार नेपालसँग मिलेर २८ कात्तिकमा ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेका थिए ।

ओलीमाथि राजकीय हैसियतको दुरुपयोग गरेको आरोप लगाइएको उक्त प्रतिवेदन बैठकमा पेस भएपछि नेकपाभित्रको विवाद थप उल्झनमा परेको थियो । त्यसपछि ओली पक्षले उक्त प्रतिवेदन फिर्ता लिनुपर्ने अडान लिएको थियो भने प्रचण्ड–माधव पक्षले उक्त प्रतिवेदनमाथि छलफल गरेर ओलीले आत्मालोचनासहित विकल्प खुला गर्नुपर्ने बताएको थियो । अन्ततः सो प्रतिवेदनमाथि न त छलफल भयो न पार्टी एकता नै कायम रहन सक्यो ।

प्रचण्डले अहिले त्यही प्रतिवेदनको प्रसंग कोट्याउँदै सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा भएपछि लेखेको दाबी गरेका हुन् । ‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी सम्झौता गर्दा सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि अब फेरि जेल जान परे पनि तयार, मर्न पनि तयार हुन्छु भनेको हुँ । यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ,’ प्रचण्डले भने, ‘त्यो गर्दै गर्दा मलाई ‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ गरें भन्ने लागेको छ ।’

उनले पार्टीभित्रै लडाइँ हुने भन्दै त्यसबाट अघि बढ्ने धारणा राखे । उनले ‘केपीप्रवृत्ति’ विरुद्ध बाटोमा गएर पलेँटी कस्दा आफू जनतासँग जोडिएको अनुभूति भएको सुनाए । आफूले फेरि जनतासँग जोडिने र देशव्यापी अभियान चलाउने सोच बनाएको उनको भनाइ थियो । ‘म काठमाडौंभन्दा फेरि दुई–चार वर्ष जनताको बीचमा गएर बस्ने विचार छ । किनभने देशभित्र र बाहिरका प्रतिक्रियावादीले हाम्रो राष्ट्र र आन्दोलनका विरुद्ध निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । हाम्रा उपलब्धि र परिवर्तनमाथि धावा बोल्ने कोसिस गरिरहेका छन् । त्यसलाई परास्त गर्नुछ,’ उनले भने ।

राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरे पनि राष्ट्रिय स्वाधीनताको लडाइँ पूर्ण नभएको उनको भनाइ थियो । ‘प्रतिक्रियावादी देशी–विदेशी शक्तिले नेपालको राष्ट्रिय स्वाधीनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकार फेरि एकचोटि जबर्जस्ती कुल्चिने दुस्साहस गरिराखेका छन् । म चिन्तित छु, आक्रोशित छु र आफै आन्दोलित पनि छु, साथीहरू विचार गर्नुहोला,’ उनले भने ।

त्यसअघि बिहीबार नै केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाका निम्ति देशव्यापी अभियान चलाउने बताए । ‘देशभित्र र बाहिरका प्रतिक्रियावादीले निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसलाई परास्त गर्नु छ । मलाई विश्वास छ– परास्त गरिन्छ । हामीले आफ्नै धर्तीमा टेकेर मात्रै पनि परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर परास्त गर्न सकिन्छ,’ उनले भने ।

अहिले युद्ध गर्नुपर्ने स्थिति नभएको भन्दै शान्तिपूर्ण ढंगले नै आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलाएर प्रतिक्रियावादीहरू परास्त गर्न सकिने उनको भनाइ थियो । उनले आफूभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने बताए ।

‘प्रतिक्रियावादी तत्वहरू यही माओवादी आन्दोलनले ल्याएका उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि रहेको प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान छ,’ उनले भने, ‘भ्रममा कोही नरहनु होला । मभित्र फेरि एकचोटि आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटि विद्रोह गर्ने अधिकार हुन्छ ।’

उनले नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको बताए । नेपालले प्राप्त गरेको उपलब्धिलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्ने काम प्रतिक्रियावादीले गरिरहेको भन्दै उनले आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रित गरेर ‘कलरफुल रिभुलेसन’ विरुद्धको षड्यन्त्रलाई चकनाचुर पार्न सकिने बताए ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवतिर संकेत गर्दै छलफल गरेर एकै ठाउँमा आउन आह्वान गरे । ‘कति बस्नुपर्ने हो बसौँ, एउटा निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवादको निम्ति, साम्यवादको निम्ति म लड्न तयार छु । मेरो विचारमा म लडिरहेको छु, तपाईंको विचारमा तपाईंहरू पनि लडिरहनु भएको छ,’ उनले भने । आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Logo