स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग(भिडियोसहित)

स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग(भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये न्यायका लागि मानवअधिकार सञ्जालले स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको छ। सञ्जालले कोभिड–१९ को दोस्रो लहरको बढ्दो प्रभावबाट नागरिकको जीवनरक्षा गर्न तत्काल स्वास्थ्य आपतकाल घोषणा गरी उपचारको व्यवस्था मिलाउन माग गरेको हो।

नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्। आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट आइतबार ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ। 

नेकपा (एमाले) का नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन्। पोखरेलले आजै विहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा दिएका थिए। आइतबार शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले भने हस्ताक्षर संकलन गरी प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष बुझाएका छन्। विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको दाबी गर्दै मुख्ममन्त्री नियुक्तीको निर्णय सच्याउन आग्रह गरेका छन्।

निषेधाज्ञाका बीच कारोबारको पहिलो दिन आज ५४ अंकले नेप्से बढेको छ। आज नेप्से २ दशमलव ७ प्रतिशतले बढेर २ हजार ६ सय ६५ दशमलव ११ विन्दुमा रोकिएको छ। कारोबार रकम पनि बढेर ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । प्रि ओपन समयदेखिनै बढेको नेप्सेमा पाँच वटा कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो।

देशमा कोरोनाको जोखिम बढ्दै जाँदा यसको चपेटामा सुरक्षा निकाय पनि प्रभावित बनेको छ। हाल अन्तर्राष्ट्रिय सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल खटिरहेको छ। जसले संक्रमणको उच्च जोखिममा सशस्त्र प्रहरी नै रहेको परेको छ। भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित हुँदा सुरक्षा निकायपनि यसको चपेटामा परेको हो। तथ्यांक अनुसार हालसम्म नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरि अहिलेसम्म ४० हजार बढी सुरक्षाकर्मीहरु कोरोना संक्रमित भइसकेका छन्।

Logo