प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलि पुनः बस्ने

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलि पुनः बस्ने


बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् । प्रदेश सभाको सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसदहरुले तोडफोड गरेका हुन् । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेश गर्न समय दिएसँगै कांग्रेसका सांसदहरुले तोडफोड गरेका थिए । प्रदेश सभाको आजको पहिलो बैठक चलिरहँदा विपक्षी दलका नेताहरुले अवरोध गरेपछि दिउँसो २ बजेसम्मका लागि सभामुख घर्तीले बैठक स्थगित गरेका थिए ।

दिउँसो २ बजेपछि सुरु भएको प्रदेश सभाको बैठकमा मन्त्री केसीलाई रोष्टममा जान विपक्षी दलका सांसदहरुले अवरोध गरेका थिए । विपक्षी दलका सांसदहरुको अवरोध हटाउँदै रोष्टम पुगेका मन्त्री केसीले प्रदेशको नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव छलफलका लागि पेश गरेका थिए । मन्त्री केसीले उक्त प्रस्ताव पेश गरेसँगै कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका हुन् ।

कुर्ची तोडफोड गर्नेहरुमा रुपन्देही कांग्रेसका सांसद वसिउद्दिन खा, अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवार रहेका छन् । तोडफोडमा उत्रिएका तीनै जना प्रत्यक्ष निर्वाचित सांसद रहेका छन् । कलवार नवलपरासी पश्चिम २ (ख) बाट निर्वाचित सांसद हुन् । साथै खा रूपन्देही ४ (ख) बाट निर्वाचित सांसद हुन् भने पाठक रूपन्देही ४ (क) सांसद हुन् ।

त्यस्तै प्रदेश सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसको माग छ । नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ । सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन् । लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल र माइकमा तोडफोड गरेका थिए । गत शुक्रबार ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए । प्रदेश सभाको अर्को बैठक भोलि अर्थात असोज २० गते पुनः बस्नेछ ।

Logo