आलुभित्र प्याज लुकाए, छड्के अनुगमनमा परेपछि कारोबार रोक्का

आलुभित्र प्याज लुकाए, छड्के अनुगमनमा परेपछि कारोबार रोक्का


काठमाडौँ। आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने ब्यापारी कारबाहीमा परेका छन् ।

कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको हो । काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको थियो।

कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए।

त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको कारोबार रोक्का गरिएको छ। उनीहरूलाई महानगरीय प्रहरी वित्त, नयाँ बानेश्वरको निगरानीमा राखिएको छ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गरेकाे थियो । बजारमा ब्यापारीहरुले प्याज लुकाई कृत्रिम मूल्य बढाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेपछि अनुगमन तीब्र पारिएको छ । अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

बुधबार पनि काठमाडौं महानगरपालिकाले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हिरासतमा लिएको थियो ।

Logo