सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा

काठमाडौं । सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने सरकारले घोषणा गरेको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको हो । सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा गरेको हो ।

पहिलो वर्ष सरकारले सामाजिक सुरक्षा भत्ता नबढाएपछि चर्को आलोचना खेप्नुपरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी सबै रित्तो भएकाले सामाजिक सुरक्षा भत्ता बढाउन नसकिएको बताएका थिए ।

आपतकालीन विमान अवतरण गर्न सकिने गरी राजमार्ग
राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने भएको छ । राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।

पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना सरकारको छ । यस्तै सन् २०१९ भित्रै लुम्बिनिको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ ।