कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कार्यकर्तामा उत्साह बढेको नेताहरुको मूल्यांकन

कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कार्यकर्तामा उत्साह बढेको नेताहरुको मूल्यांकन


सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आइतबारदेखि एक महिने अभियान सुरु गरेको छ। 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरि ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ अभियान सुरु भएको हो। अभियानको लागि  कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ। 

अभियानकै लागि बझाङ सदरमुकाम चैनपुरमा उद्घाटन कार्यक्रममा पुगेका कांग्रेस नेता रमेश लेखकले कार्यकर्तामा अत्यन्तै उत्साह भेटेको बताएका छन्। 

कम्युनिष्टले अघिल्लो चुनावमा स्थिरता, विकास र आर्थिक समृद्धिको नारा बाँढेर व्यवहारमा नदेखाउँदा जनतामा निराशा मात्रै छाएकोले कांग्रेसमा आकर्षण बढेको नेता लेखकको भनाइ छ।   

उनले भने, ‘बझाङमा कांग्रेसको पक्षमा माहोल छ। म एक दुई हप्ता यतै बसेर चुनावी अभियानमा सहभागी हुन्छु। गाउँघर,टोल र वडामा घुम्छु।’ यस्तै कांग्रेस नेतृ लक्ष्मी परियार उदयपुर गाइघाटस्थित आफ्नै निर्वाचन क्षेत्रमा सहभागी भइन्। उनले पनि उद्घाटन कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रहेको बताइन्। 

उनले भनिन्, ‘कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सबै कार्यकर्ता सहभागी भए । यो एक महिनाभित्र हामी प्रतिस्पर्धी दलसँग चुनावमा जित्नेगरि जान्छौं भन्ने छ । कम्युनिष्ट पार्टीका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छरेको भ्रम झण्डै ५० प्रतिशत चिरिइसकेको अवस्था छ। ’

कार्यकर्ता खोज्न केही ढिला गर्नुभयो भन्ने केही गुनासो आएपनि कार्यकर्ता आक्रोशित नै चाहिँ भइनसकेको उनले बताइन्। 

अभियान अवधिभर कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको कारणबारे  प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्ने लक्ष्य लिएको छ।  

Logo