३ उत्कृष्ट ‘सर्ट मुभी’लाई ५ लाख नगद पुरस्कार

३ उत्कृष्ट ‘सर्ट मुभी’लाई ५ लाख नगद पुरस्कार


राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ सर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण भएको हो ।

प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमशः एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमशः रु २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए । 

राष्ट्रिय युवा संघ नेपाल, कार्यालय सदस्य क्षितिज थेबेको संयोजनमा सम्पन्न एनवाइएफ सर्ट मुभी कम्पिटिशन ‘म केही गर्छु थिमसहित युवाहरूको सकारात्मक सोच र प्रतिभा प्रस्फुटनका लागि आयोजना गरिएको आयोजना राष्ट्रिय युवा संघ नेपालका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

संयोजक पौडेलका अनुसार कोभिड–१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताको सुरुवात गरिएको थियो । यो बेला युवाहरूको समय सदुपयोग तथा प्रडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवर्द्धन गर्ने उद्देश्य यस प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतिका लागि लघु चलचित्रको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरूबाट पटकथा प्राप्त पटकथा मध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो । चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो । विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट फेरि १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्र मध्ये सोमबारको समारोहमार्फत तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो ।

संयोजक पौडेलले प्रतियोगितालाई सफल बनाउन क्रियाशील संघका सम्पूर्ण नेता, कार्यकर्ता, सञ्चारकर्मी, फोटो पत्रकार संघ लगायत सम्पूर्ण सहयोगी संस्थालाई धन्यवाद ज्ञापनसमेत गरे । साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्षकको टिकटक भिडियो प्रतियोगितासमेत घोषणा गरेको छ ।

Logo