भैरहवा नाकाबाट ११ अर्बको चामल र आलु, प्याज आयात

बुटवल,

आयात प्रतिस्थापन गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारी योजना र बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा खाद्यान्नको परनिर्भता हरेक वर्ष बढ्दो छ । कृषिमा अर्बौं रुपैयाँ खर्च गरिए पनि खाद्यान्नको परनिर्भता घट्नुको साटो बढ्दै गएको भन्सारको तथ्यांकले पुष्टि गर्छ । रुपन्देहीको बेलहिया नाकाबाट मात्रै पछिल्लो आठ महिनामा ११ अर्बको चामल र तरकारी आयात भएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म भैरहवास्थित बेलहिया नाकाबाट ११ अर्ब ६ करोड ४४ लाखको खाद्यान्न तथा तरकारी आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्बको खाद्यान्न आयात भएको थियो । पछिल्लो आठ महिनामा भैरहवाबाट पाँच अर्ब ९३ करोड ४६ लाखको १३ हजार टन चामल आयात भएको छ । यो नाकाबाट विशेष गरी मसिनो र बास्नादार चामल आयात हुन्छ ।

आठ महिनामा ४६ करोडको मकै र २८ करोडको गहुँ आयात भएको छ । नेपालीको भान्सामा सबैभन्दा धेरै पाक्ने तरकारी आलु, प्याजका लागि पनि भारतकै मुख ताक्नु पर्ने अवस्था छ । भैरहवा भन्सारका अनुसार आठ महिनामा चार अर्बको आलु, प्याज आयात भएको छ । एक अर्ब ९३ करोड ६७ लाखको आलु र दुई अर्ब ६ करोड २९ लाखको प्याज आयात भएको हो । ३० करोड भन्दा बढीको गोलभेडा र हरियो तरकारी आयात भएको छ ।

कृषिविज्ञका अनुसार आलु तराई, पहाड र हिमाल तीनवटै भूभागमा कम लगानीमा धेरै फलाउन सकिने तरकारी हो । तर त्यही आलुका लागि वार्षिक ६ अर्बभन्दा बढी रकम बिदेसिने भन्सार विभागको तथ्यांकले बताउँछ ।
नागरिकबाट