पैदल यात्रा गरौँ ढाड बचाउँ

पैदल हिड्नु स्वस्थ्यकालागी कतिसम्म फाइदाजनक छ त्यो कुरा अध्याताहरु र डाक्टरहरूले पटक पटक भनिरहेको कुरा हो । हामी आफैं कतिसम्म अल्छि छौं भने सय मिटर या त्यो भन्दा कम दूरी भएपनि सकेसम्म आफ्नै सवारी साधनमा जान रुचाउन्छौ । अझ नयाँ नयाँ सवारी साधन किनेको मान्छे त बिहान दूध किन्न या नजिकैको पसलमा तरकारी किन्न जाँदा पनि बाइक चढेरै जाने रहर गर्छ ।

पैदल हिँड्नु भनेको गरिबी र साधन चढ्नु भनेको सम्पन्नताको प्रतिक हो भनेर बुझ्ने सामान्य प्रचलनले पनि काम गरेको छ त्यहाँ त्यसैले हामीहरू पैदल हिँडेर गरिब देखिन चाहदैनौं । आफ्नै सवारी साधनमा यात्रा गर्नु राम्रो हो । तर सवारी साधनको प्रयोग अत्यावश्यक अवस्थाको लागि जरुरी हो कि अनावश्यक सुविधाको लागि प्रयोग गर्नु उचित हो त्यो भने हामीहरूले बुझ्नु जरुरी भैसकेको छ । म पनि लामो समय मोटरसाइकल र स्कुटीमा यात्रा गरेँ । निकै छोटा दुरीहरू पनि आफ्नै बाइकमा सरर जानु छिट्टै काम सकेर तुरुन्तै फर्कनु त्यो एउटा शानको विषय पनि हो ।

अगाडि छोरो, बिचमा छोरी र पछाडि श्रीमती राखेर धेरै पटक ससुराली गएको छु । नेपालको सबैभन्दा सुदूर पश्चिम महेन्द्रनगरको बेलौरी, गड्डाचौकी देखि बुटवल सम्मको यात्रा छोरो र श्रीमतीलाई बोकेर यात्रा गरेको छु । कर्णालीमा रोकेर चिसापानीका माछा खाएको छु । राष्ट्रिय निकुञ्जभित्र छोरालाई जनावर देखाउँदै रमाइलो गरेको छु त्यो रमाइलो गर्नुको मूल्य त्यो समयमा निकै ठुलो थियो हामीहरूले त्यसरी जिन्दगीका धेरै क्षणहरूलाई सुमधुर बनाएका हुन्छौँ ।

कतिपय त्यस्ता कामहरू आत्मसन्तुष्टिको लागि पनि गर्ने गरिन्छ । तर समय सधैँ उस्तै रहँदैन । त्यसरी सवारीसाधन प्रयोग गरिरहन कतिपय परिस्थितिहरूले पनि मिल्दैन अनि कतिपय अवस्थामा भने हामीलाई स्वास्थ्यले समेत साथ दिँदैन र सवारीसाधन त्यसरी प्रयोग गरिरहन सकिँदैन ।

साइकल बाहेकका सवारीसाधन चलाउनु भनेको ‘बस्नु’ कै अर्को रूप हो । सवारीसाधन चलाउँदा चालकको सिटमा बस्नुलाई ‘चलायमान बसाई’ भन्न सकिन्छ । दिमाग र हातगोडाको प्रयोग सामान्य भए पनि हरेक बसाईमा हाम्रो पुरै शरिरको तौलको भार हाम्रो ढाड अथवा पुट्ठामा परेको हुन्छ । त्यसले बिस्तारै ढाडको समस्याहरू देखिन थाल्दो रहेछ ।

त्यसरी पाँच वर्ष अवधिका सामान्य यात्राहरूमा पनि लगातार ‘बाइक राईड’ गर्दा म यामाहाको एउटा मोटरसाइकललाई झन्डै दुईलाख किलोमिटर भन्दा बढी गुडाउन पुगेछु कैयौँ पटक खासा-काठमाडौं-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल-नारानघाट हुँदै काठमाडौंको यात्रा कति पटक गरेँ त्यो ठ्याकै सम्झना छैन तर यस्तै मोटरसाइकलको हिडाईले मेरो पैदल हिँड्नुपर्ने महत्वपूर्ण समय भने ओगटिरहेको थियो । लामो यात्रा पैदलै गर्न सकिदैन तर पनि छोटो छोटो यात्रा समेत बाईक मै गर्ने चलनले मेरो पैदल हिँड्ने बानी लगभग समाप्त भएको थियो । त्यसपछि म विदेश आएँ ।

मोटरसाइकलको हिँडाई त रोकियो तर यहाँ आएपछि पनि सवारी साधनको यात्रा र ‘चलायमान बसाई’ को अवस्था भने उस्तै रहिरह्यो । मान्छेहरू भन्छन्, ‘हैन तेरो काम चाहिँ कस्तो छ र जति बेला पनि अनलाइन देख्छु’ भनेर अचम्म पर्छन् । कतिपय विदेश आएका दाजुभाइहरू अत्यधिक शारीरिक परिश्रम गर्नुपर्ने काममा परेर दुख पाएको पनि देख्न सकिन्छ । मेरो हकमा चाहिँ केही बिसेकको काम परेको कारण शारीरिक परिश्रमको आवश्यकता नपर्ने तर आफ्नो दक्षता अनुसारको मानसिक श्रम लगातार ड्युटी अवधी भर कुर्चीमा बसेरै गर्नुपर्ने भयो ।

त्यसपछि फेरि मेरो सिङ्गै शरीरको तौल मेरो ढाडमा र पुट्ठामा पर्न थाल्यो । पहिलो एक वर्ष मैले त्यता खास ध्यान दिन भ्याईन । सजिलो काम पाएको र त्यसलाई अझै राम्रोसँग सिकेर निपुण हुनुपर्ने अवस्था थियो भने अर्कोतर्फ ओभरटाईमको आशाले समेत मैले दैनिक बाह्र घण्टासम्म कुर्चीमा बसेर काम गरिरहेँ । लघुशंकाको लागि बाहेक कुर्चीबाट उठ्दै नउठी लामो समय काम गरेपछि मेरो ढाडमा समस्या बढ्दै गयो ।

अहिले म ढाडको समस्यासँग जुधिरहेको छु । डाक्टरलाई देखाउँदा दैनिक कति घण्टा पैदल हिड्छस भनेर सोध्छ । यता आफूलाई पैदल हिँड्ने वातावरण नै छैन । हिँड्न मिल्दै नमिल्ने होइन तर त्यसको लागि समयको व्यवस्थापन गर्न हम्मे हम्मे पर्छ ।

साधरणतया बिहान पाँच बजे तिर उठेर छ बजे सम्ममा फ्रेस भई वरी तयार भइसक्नुपर्छ । सत्तरी असी किलोमिटरको दुरी छ कार्यालय र निवास, त्यो दुरी छिचोल्न चालिस पचास मिनेट समय गाडीमा लाग्छ । अचेल त गाडीको बसाई पनि निकै पट्यारलाग्दो हुने गरेको छ मेरो लागि । गाडीमा बस्दा पनि ढाड नै दुख्छ । अफिस पुगेपछि हाजिरी र चियापानको लागि एक दुई तलामा तलमाथि गरे पुग्छ त्यसपछि काम गर्ने स्टेसनमा छिरेपछि उठ्ने भनेको खाना खानुको लागि मात्रै हो त्यो बसाई कमसेकम चार घण्टाको हुन्छ । बिचमा एक दुई पटक फाइल सार्न अथवा ट्वाइलेट जान उठे मात्र हो नत्र उठेर गर्ने काम केही हुँदैन ।

खाना खाईसकेपछि फेरि अर्को बसाई चार पाँच घण्टाको हुन्छ । रुम सम्म जाने समय फेरि चालिस पचास मिनेट गाडीको सिटमा बस्नु पर्यो र त्यो बसाइले ढाड र पिठ्युँमा भतभती पोल्छ । पसिना छुट्छ र कति बेला घर पुगिएला जस्तो हुन्छ । घर पुगेपछि केही फोन भन्यो, भिडियो कल भन्यो यी सबै ओछ्यानमा उत्तानो परेर बोल्दा सजिलो लाग्ने अनि खाना खाने बेला हुन्छ । खाना खाएपछि थाकेको ज्यान पिलित्त निदाउँछ, ढाड त चलायमान हुनै पाउँदैन भोलिपल्ट फेरि उही रुटिन ।

यसरी पैदल हिँड्ने वातावरण नहुँदा एउटा स्वस्थ मान्छे पनि कसरी रोगी जस्तो महसुस गर्नुपर्दोरहेछ भन्ने कुरा मैले बुझेँ । म भएको देशमा हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिने गरी सहरको डिजाइन गरिएको छैन । र यहाँको मौसम पनि पैदल यात्राको लागि अनुकूल छैन तर हाम्रा सहरहरू कति रमाइला छन् कति पैदल यात्रा मैत्री छन् र त्यो पैदल यात्राले हाम्रो स्वास्थ्यमा कस्तो सकारात्मक असर गर्छ भन्नेतर्फ हामी अनभिज्ञ छौँ । जति बेला पैदल नहिँडेको अथवा हिँड्न नपाएको कारणले स्वास्थ्यमा समस्या परेको बुझ्दछौँ तब समय घर्किसकेको हुन्छ । या त पुच्छरे हड्डी खिईसकेको हुन्छ या हड्डी बढेर ढाडको नसा च्यापिई सकेको हुन्छ त्यो बेलामा अप्रेसन र पछुतो बाहेक हामीसँग अन्य विकल्प बाँकी हुँदैन् ।

काठमाडौंभित्रका जुनसुकै ठाउँमा पनि लगातार राम्रो सँग हिँड्यो भने एउटा स्वस्थ मान्छे एक घण्टामा जता पनि पुग्न सकिन्छ । सुन्धारालाई केन्द्र मानेर पैदल यात्राको रुट बनाउने हो भने कुन ठाउँ नपुगिएला एक घण्टामा ? रिंगरोड बाहिर रहेका बस्तीहरू छोडेर स्वयम्भू सुन्धारा, सामाखुसी सुन्धारा, बानेश्वर सुन्धारा यी सबै दुरीहरू पैदल केही बेरमा र साइकलमा तुरुन्तै तय गर्न सकिने दुरीहरू हुन ।

केही समस्याहरु होलान पैदल यात्राको लागि चौडा फुटपाथ, धुलो धुवारहित वातावरण र चोर लुटेराबाट सुरक्षा न्यूनतम सर्त मान्नु पर्छ । काठमाडौंमा ती कुराको व्यवस्थापन गर्ने हो भने पैदल यात्रा र साइकल यात्राकोलागि काठमाडौं उपयुक्त सहर हुनेछ जसले हाम्रो स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्नेछ । नजिकको दुरी पैदल तय गरौँ र ढाड बचाउने प्रयास गरौँ ।
दुर्गा पंगेनी