५ वर्षमा के के गर्‍यो विराटनगर महानगरपालिकाले ?

५ वर्षमा के के गर्‍यो विराटनगर महानगरपालिकाले ?


पछिल्लो पाँच वर्षको विकास क्रम हेर्ने हो भने विराटनगर महानगरपालिकाको मुहार परिवर्तन भएको छ । बितेको ५ वर्षको समयावधि नियाल्ने हो भने  विराटनगरमा कुनै यस्तो ठाउँ छैन जहाँ विकास नपुगेको होस् । विकासको सन्दर्भमा ५ वर्ष अघि र अहिलेको विराटनगरमा लोभलाग्दो परिवर्तन देख्न सकिन्छ । 

महानगरले विराट राजाको दरबार बनाउने कामलाई अभियानको रूपमा अघि बढाएको छ । पुरातत्व विभागसँगको सहकार्यमा विराट राजाको दरबारसँगै पुरातात्विक वस्तु राख्ने संग्राहालयदेखि आधुनिक पार्क, फुड स्टल, विराटकालिन इतिहास प्रदर्शनका लागि डिजिटल हलको व्यवस्था हुने गुरुयोजना तयार पारिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा विराटनगरको ढल, नाला र डुवानको समस्या धेरै हदसम्म समाधान भएको छ । करिव छ अर्व रूपैयाँ लागतमा सम्पन्न परियोजनाबाट छ हजार घर परिवार ढल निकास प्रणालीको सञ्जालमा जोडिएका छन् । 

विराटनगरको जतुवामा १३ बिघा जमिनमा ढलबाट आएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण भएको छ । परियोजनाले ४५ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्नुका साथै ६५ किलोमिटर नाला र ६५ किलोमिटर ढल निर्माण गरेको छ । 

विराटनगर महानगरको अहिले सडक सन्जाल आकर्षक देखिएको छ । यसलाई सफल कार्यान्वयन गराउन महानगरको भुमिका उल्लेख्य छ । महानगरको पहलमा परियोजना सहित करिब १ सय ५० किलोमिटर सडक कालोपत्रे भएको छ ।  

माध्यमिक तहका १० वटा विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गरी प्राविधिक शिक्षालाई अनिवार्य गर्दै नमुना विद्यालय बनाइएको छ । जसमा संस्कृत विद्यालय, मदरर्सा र बहिरा मावि पनि समेटिएका छन् । आदर्श माविलाई नेपालमा पहिलो अपाङ्ता भएका र नभएका विद्यार्थीलाई अध्यापन गर्ने गरी समावेशी विद्यालयका रुपमा विकसित गरिएको छ । 

विराटगर महानगरपालिकाले आफै बहुप्राविधिक विद्यालय सञ्चालनमा ल्याएको छ । ं 

विराटनगर १५ र १९ मा १५–१५ शय्याको बर्थिङ सेन्टरसहितको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । 

कोभिड महामारी रोकथाम तथा नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको महानगरले नागरिक समाज र निजी क्षेत्रको सहकार्यमा नागरिक केयर सेन्टर माार्फत निर्माण गरी १०२ शैय्याको कोभिड अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । महानगरले आफैं अक्सिजनसहितको ५० शेय्या र दुई सय शेय्याको आइसोलेशन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको थियो । 

कोभिड महामारीका समय निजी क्षेत्र, नागरिक समाज र विभिन्न संघसंस्थासँगको सहकार्यमा महानगरपालिकाले कोशी अस्पतालमा पीसीआर ल्याब स्थापना, भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्रीको व्यवस्थापन, अक्सिन प्लान्ट निर्माण तथा प्रदेश सरकारलाई आरएनए एक्ट्राक्सन मेसिन र इन्सिनेटर हस्तान्तरण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पीसीआर मेसिन, आएनए एक्ट्राक्सन मेसिन, इन्सिनेटर तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

अत्याधुनिक प्रविधियुक्त बनाउने गरि वीरेन्द्र सभागृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगरबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीहरूको सालिकसहितको प्रधानमन्त्री पार्क निर्माणका लागि  टेन्डर प्रकृया अघि बढेको छ ।

विमानस्थल सडक खण्डको सौन्दर्यीकरणको काम तिब्र गतिमा भइरहेको छ । जहाँ अत्याधुनिक लाइटिङ सहित रात्रिकालिन समयको आनन्द लिन सकिनेछ । हिमालय रोडको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ । हिमालय रोडलाई विराटनगरको मात्र नभई मुलुककै नमुना सडक बनाइने छ ।

विराटनगरका चार स्थानमा आकाशे पुलको निर्माण हुनेछ । कञ्चनवारीमा आकाशेपुल निर्माण भइरहेको छ भनें वरगाछी,  घाँसचोक र कलेज रोडमा निर्माण प्रकृयामा छ । 

विराटनगर–९ स्थित पुरानो गुद्री बजारमा रहेको महानगरको जग्गामा देशकै सबैभन्दा अग्लो २५ तले व्यापारिक भवन निर्माण सम्झौता सम्पन्न भएको छ । महानगरलाई आर्थिक व्ययभार नपर्ने गरि बन्ने उक्त भवनलाई महानगरपालिकाको राजस्व आम्दानी बृद्धिका निम्ती उपयोग गरिनेछ ।  सार्वजनिक निजि साझेदारीमा बन्ने यो ब्यापारिक भवनमा ४ तला अन्डरग्राउन्ड पार्किङ हुनेछ । 

विराटनगरवासीलाई सफा पिउने पानी उपलब्ध गराउन शुद्ध खानेपानी परियोजना सञ्चालन भएको छ । शुद्ध खानेपानीका लागि जाइकासँगको सहकार्यमा करिब दुई अर्व ६१ करोड रूपैयाँको परियोजना सञ्चालन हुनेछ । 

विराटनगरको हाटखोलामा गुरूकूल आरोहण थिएटर निर्माण भएको छ । करिव तीन करोड ९० लाख रूपैयाँ लागतमा निर्माण भएको यो थिएटरले कला सस्कृतिको संरक्षणमा टेवा पुर्याउनेछ । 
विराटनगरको वसपार्कमा अत्यााधुनिक वस टर्मिनल भवन निर्माण भइ सन्चालनमा आएको छ । समयमा नै गुणस्तरीय काम सम्पन्न भएको उक्त  टर्मिनल भवन सार्वजनिक निजी साझेदारीमा उत्कृष्ट व्यवस्थापनका लागि नेपाल सरकार र नगरविकास कोषबाट पटक पटक पुरस्कृत भएको छ । 

महानगरको वडा नम्बर चारस्थित ६ कठ्ठा १८ धुर जग्गामा रेडियो नेपालको २० करोड रुपैयाँको लागतमा अत्याधुनिक ‘तारिणीप्रसाद कोइराला स्मृती सञ्चारग्राम’ सञ्चालनमा आएको छ । उक्त स्थानबाट महानगर एफएम पनि प्रशारण भइरहेको छ । 

३२ विपन्न मुसहर परिवारलाई विराटनगर महानगरपालिकाले वडा नम्बर १९ धरमपुरामा घर निर्माण गरी हस्तान्तरण गरेको छ । महानगर र साझेदार संस्थाहरुको सहयोग र सहकार्यमा निर्माण भएका ति घरहरु सुविधासम्पन्न छन् । वडा नम्बर ५ र १२ मा करिब २ सय थप घर निर्माण प्रक्रियामा छन् । 

वडा नम्बर १, ३ र १० स्थित मानव सेवा आश्रम संचालनका लागि विराटनगर महानगरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।  असहाय र बेसाहारा सडक मानवको व्यवस्थित बसोबास र आश्रयका निम्ती मानवसेवा आश्रमसँग महानगरले ३ वर्षदेखि सहकार्य गरिरहेको छ । महानगर र मानव सेवा आश्रमको विशेष अगुवाईमा छुट्टै ५० कोठे आधुनिक भवन निर्माणाधिन अवस्थामा छ ।   

महानगर र प्रदेश सरकारबीचको सहकार्यमा शहीद मैदानमा फ्लड लाइट जडान गरिएको छ । दशरथ रंगशाला पछि पहिलो पटक फ्लड लाईट जडान गरिएको  उक्त मैदानको स्वामित्व राखेपले ५ वर्षका लागि महानगरलाई हस्तान्तरण गरेको छ । महानगरको अगुवाईमा शहिद मैदानमा नेपालमा नै पहिलो पटक साफ महिला फुटबल सम्पन्न भएको छ । 

Logo