ज्ञानेन्द्र शाहीबारे बल्ल बोल्यो मानवअधिकार आयोग

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

पत्रकारलाई गाली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा कुटपिट गरेर घाइते बनाएको आयोगले दाबी गरेको हो ।

प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ बिनापूर्जी गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो । शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ज्ञानेन्द्रले वैशाख १८ गते सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै एक अन्तर्वार्तामा पत्रकारलाई गाली गरेका थिए । पत्रकारलाई तथानाम गाली गरेको भन्दै पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले शाहीविरूद्ध उजुरी गरेको थियो ।

महासंघको उजुरीपछि प्रहरीले शाहीलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । तर, कर्णाली प्रदेश प्रहरी कार्यालयले भने पत्रकार सम्मेलन गरी शाहीलाई हिरासतमै नराखेको जनाएको छ । प्रहरीको कुटपिट गरेको आरोप अस्वीकार गर्दै प्रदेश प्रहरीले शाहीलाई हिरासतमै नराखेको बताएको हो ।