नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा

नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा


मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्। आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणनाको क्रममा मतपेटिका खोल्दा एक हजार चार सय १८ वटा मतपत्र मात्रै भेटिएको थियो ।

नाै वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन्। उनीहरूले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन्। यता, लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराति नै लालबन्दी-८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा गरेको छ। पाख्रिन चार सय ६० मतसहित विजयी भएका थिए।

निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले चार सय ४४ मतमात्र पाएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ। लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा नाै मत कम देखिएको स्वीकार गरे। उनले यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताए ।

नाै मत कम भेटिँदासमेत निर्वाचन अधिकृतको कार्यालयले गएराति मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक गरिसकेको छ। उक्त वडाको वडाध्यक्षमा माओवादीका उम्मेदवार १६ मतले विजयी भए पनि चारै जना वडासदस्य एमालेबाट चयन भएका छन् ।

Logo