त्यसपछि आयो ‘गलबन्दी’ चर्चामाः प्रकाश सपुत

‘बोल माया’ बोलको गीतबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुतको त्यस्तै अर्को गीत आयो । मायाप्रेममा आधारित रहेर आएको गलबन्दी यतिबेला चर्चामा छ । ‘बोल माया’ विदेशमा गएको युवकको मृत्युसँगको समवेदना जोडिएको थियो । त्यो गीतले अत्याधिक चर्चा कमाएको थियो । त्यसले मानिसलाई रुवाएको थियो ।

अहिले ‘गलबन्दी’ बोलको गीतलाई गायक प्रकाश सपुतले सिक्वेलका रुपमा निकालेका छन् । ‘बोल माया’ मा स्वर दिएकी गायिका शान्तिश्री परियारले ‘गलबन्दी’ मा पनि स्वरमा साथ दिएकी छिन् । ‘गलबन्दी’ करोड क्लबमा प्रवेश गरेको छ । यहि गलबन्दी, प्रकाश सपुतको जीवन लगायतका विभिन्न आयामहरुबारे केन्दविन्दुकर्मीले कुराकानी गरेका छन्ः

१.गलबन्दी, दोहोरी ब्याटल जस्ता हिट गीत दिनुभएको छ । एकाएक चर्चामा आउँदा कस्तो अनुभुति भएको छ ।

बोल्ने कुरा धेरै भयो कि जस्तो लागेर धेरै नबोलुम कि भन्ने लागेको थियो । (हाँस्दै) रमाइलो लागिरहेको छ । भ्युज यति गयो उति गयो ट्रेन्डिङमा आयो भन्दा पनि गीत संगीतप्रति दर्शकहरुको चासो, उहाँहरुको फिडव्याक, कन्र्सन्टेन्ट, इंगेज्ड भएको देख्दा एकदमै खुशी लागेको छ ।

२. यो गीतले रेकर्ड नै ब्रेक गरेको छ । एउटा गीतले यति छोटो समयमा यति धेरै पपुलारिटी पाएको थिएन भन्ने दाबीहरु पनि सुन्न थालिएको छ । कस्तो लाग्छ ?

रमाइलो लाग्छ । व्यक्तिगत रुपमा हाम्रो प्रोजेक्टले यस्तो खालको रेकर्ड तोड्दा एकदमै खुशी लाग्छ । यसमा २ वटा कुराहरु छन् । समयको कुरा पनि छ । एक बर्ष अघि जति जनाले युट्युब चलाउनुहुन्थ्यो अहिलेको अवधिमा संख्या बढेको छ । टेक्नोलोजीमा पनि निकै अगाडि बढिसकेको छ ।

सबैको घरघरमा वाईफाई कनेक्ट छ । नेटवर्क पनि थ्रि–जी, फो–जी चल्ने भइसक्यो । सबैको हातहातमा मोबाइल फोन भइसक्यो । यसले गर्दा पनि अडियन्सको संख्या बढ्दै गएको हो । एक बर्षपछि यस्तै अर्को गीत आयो भने यो भन्दा धेरै भ्युअर्स हुन्छ । अनि अर्को कुरा कन्टेन्ट पनि राम्रो भएर वा मनपराएर यस्तो खालको रेकर्ड बनेको हो जस्तो लाग्छ ।

३. तपाईले अरु पनि गीत निकाल्नुभयो । त्यति चर्चा भएन । तर गलबन्दी ब्लकबस्टर भयो । यो गीत हिट हुनुमा केहि त छ होला नी ?

दर्शक श्रोताहरुमा यो गीत प्रतिको चासो देखिन्छ । कमेन्टहरु पनि धेरै आएरहेका छ । सोसल मिडियाहरुमा पनि त्यतिकै चर्चा भइरहेको छ । स्टाटस लेख्दा पनि गलबन्दीलाई जोडेर लेख्ने, ट्रोलहरु पनि बनेको छ । अझ झन एकदमै धेरै टिकटक बनेको छ । त्यसले गर्दा चै कन्टेन्ट वाइज नै यो गीत मनपराइदिनुुभएको रहेछ जस्तो लाग्छ ।

४. यो टिपिकल लोकदोहोरी गीत हो कि ? रोदी गीत हो ?

मेरो विचारमा लोक गीत भनेको भाका र भाषा हो । यस गीतको भाषा र भाका एकदमै मौलिक छ । कुनै एउटा क्षेत्रसँग सम्बन्धित, कुनै एउटा समुदायसँग सम्बन्धित छैन् । भाका पनि छैन् । भाषा पनि छैन् । वास्तवमा भन्नुपर्दा यो एकदमै मेलोडियस दोहोरी गीत हो । मैले प्रस्तुतीमा मौलिकता झल्काउन खोजेको छु । भेगिय, जातीय, समुदाय, पुरानो चालचलन, रोदी संस्कारलाई प्रस्तुत गर्न खोजेको छु ।

५. गीतको बिचमा जुन डायलगहरु छ । यसले पनि गीतलाई मिठास थपेको हो कि ?

एकदमै हो । नत्र त दोहोरी गीतहरु त अरु पनि आइरहेको छ नि । दोहोरी भनेकै प्रश्न उत्तर गरेर खेलिने खेल हो । यसको बलियो पक्ष नै प्रस्तुतिकरण हो । सायद अडियो मात्रै भए यति धेरै यो गीत भाइरल हुन्थेन होला । डायलगले नै प्लस पोइन्ट गरेको हो भन्ने चै लाग्छ ।

६. गायक, संगीतकार, मोडल, निर्देशक र सफल युट्युबर पनि हुनुहुन्छ । धेरै वटा विधामा आफुलाई सफल पाउँदा कस्तो लाग्छ ?

म आफुलाई चै अरु विधामा प्रोफेसनल्ली इन्गेज्ड राख्दिन । भिडियो निर्देशकको रुपमा पनि भिडियो बनाएको छु । व्यवसायिक रुपमा म्युजिक भिडियोमा पनि खेलेको छु । पैसा पनि त चाहियो । तर यसलाई पनि मैले प्रोफेसनल्ली सोचेको छैन् । मुख्य कुरा मलाई गायन र संगीतमा बढी रुची छ । मैले कुनै कुनै गीत बनाउँदा कस्तो किसिमको बनाउने भनेर परिकल्पना गर्छु, जुन परिकल्पना मैले निर्देशक वा अन्य टेक्निकल टिमलाई बुझाउन नसकेको हुन सक्छु ।

मैले त्यो गीत उहाँहरुलाई दिँदा मेरो परिकल्पना अनुसार नबन्न सक्छ । उहाँहरुको आफ्नै भिजन हुन्छ । गीत बनाउँदा यो गीत यसरी बनाउँदा राम्रो हुन्छ वा मेरो दिमागमा यस्तो किसिमको बनाउँछु भन्ने भिजन बन्छ । त्यो गीत चै मैले आफै गरिराखेको हुन्छु । तर मेरो पहिलो प्राथमिकता चै गायन नै हो ।

७. लोक गीतमा राज गरिरहेका पशुपति शर्माको बजार खाइदियो प्रकाश सपूतले भनिराखेका छन ? यसमा के भन्न चाहनुहुन्छ ?

त्यस्तो हुँदैन् । कन्टेन्ट वाइज हेर्ने हो । कसैले कसैको बजार खाने होइन । उहाँहरुसँग हाम्रो तुलना नै गर्न मिल्दैन् । उहाँहरुको भनेको इतिहासको कुरा हो । उहाँहरुको इतिहासलाई त चलाउन मिल्दैन नि । हो, भविष्यमा कुरा अर्कै हुन सक्छ । आज एउटाको गीत चल्ला, भोली अर्कोको । तर एउटा सफल कलाकार भइसकेको मानिससँग नयाँ कलाकार आयो भन्दैमा उहाँहरुको इतिहास त बिर्सन भएन नि ।

८. प्रकाश सपुतको गीत ब्याक टु ब्याक हिट भइराखेको छ । पशुपति शर्मालाई बजारमा चुनौती त दिएको हो कि ?

बजारको हिसाबले व्यवसायिक हिसाबले मुल्यांकन गर्नु आफ्नो ठाउँमा होला । कसको गीत बढी चलेको छ वा सुनेको छ । तर मलाई कहि पनि चित्त बुझ्दैन उहाँहरुसँग तुलना गर्दा चै । मेरो २–३ वटा गीत हिट भएको छ भने उहाँको १०–१२ वटा भएको छ । उहाँहरुसँग सफलताको अनुभव धेरै छ । तर हरेक कलाकारको जीवनमा त्यस्तो महसुस हुन्छ । उहाँजस्तो कलाकार बन्न पाए हुन्थ्यो भन्ने हरेकको सपना हुन्छ, जुन मैले पनि बोकेको छु । म पनि पशुपति शर्मा जस्तो बन्न सँकु भन्ने त लाग्छ तर कम्पिटिसन भन्दा पनि यसलाई म इन्सपिरेसनको रुपमा लिन्छु । उहाँलाई म प्रेरणाको स्रोत मान्छु । मेरो गीतहरु हिट हुँदा, दर्शकहरुले मन पराइदिनु हँुदा खुशी लाग्छ ।

९. प्रकाश सपुतले धेरै दुःखको दिन पनि भोगेको छ भन्ने सुनिन्छ । केहि गीतमा पनि आफुले भोगेको कुरा पस्केको जस्तो देखिन्छ । त्यो दिनलाई कसरी सम्झनुहुन्छ ?

हरेक सर्जकहरुको आफ्नै अनुभव हुन्छ । लेखकहरुले पनि सबैकुरा परिकल्पना गरेर लेखेको हुँदैनन् । मेरो जीवनमा पनि यस्ता घटनाहरु धेरै छन् । म सामान्य परिवारमा जन्मिए । घरको आर्थिक अवस्था कमजोर थियो ।

त्यो समाजबाट, त्यो परिस्थितिबाट आएर यहाँसम्म पुुग्दा एकदमै खुशी लाग्छ । ३–४ बर्षको अवधी चै हामीले निकै कष्टकर बितायौ । बुबा र आमा अर्काको खेतमा गएर काम गर्नुपर्ने र उहाँहरुलाई दिनभर कामगरे वापत दिने खाजा घरमा लिएर छोराछोरीलाई खुवाउनुपर्ने थियो ।

बुबा बैदेशिक रोजगारको लागि बाहिर जानुहुन्थ्यो । विचमा ३ वर्षसम्म भिसा नै आएन । त्यो बेला निकै दुःखले बितायौ । जुन मेरो पारिवारिक अवस्था थियो । सामाजिक स्टाटस थियो । छोटकरीमा बताउन सकिदैन् । तर त्यो लेभलबाट आएर यहाँसम्म पुगियो भनेर खुशी लाग्छ ।

१०. त्यो बेलाको क्षणहरुलाई सम्झँदा जीवन यस्तै रहेछ भन्ने सोच्नुहुन्थ्यो कि ?

मानिस वा हरेक प्राणी जस्तो परिस्थितिमा पनि एडजस्ट हुन सिक्छ । प्रकृतीले नै त्यो कुरा मिलाइदिएको हो जस्तो लाग्छ । हामीले त्यो दुःखमा पनि हामी ठिकठाक नै थियौ । परिस्थितिले मान्छेलाई बनाउँछ भन्ने लाग्थ्यो । दुहुनो भैंसी बेचेर चामल पनि किनेका छौ । त्यो बेला दुध खानु भन्दा पनि अन्नको खाँचो थियो । १ माना चामल पैँचो लिएको कहिले चुलो नै नबलेको दिन पनि थियो ।

मसँग त्योबेला कुनै ठूलो महत्वकांक्षा नै थिएन । यो गर्छु त्यो गर्छु भन्ने ठूलो सपना थिएन । मैले केहि पैसा कमाए भने परिवारलाई सर्पोट हुन्छ । बुबालाई सर्पोट हुन्छ भन्ने मात्र थियो । त्यो परिस्थितिमा हामी जति दुःखी हुनुपर्ने हो त्यति चै थिएनौ । सायद त्यो बेला दुःखमा पनि एडजस्ट हुनुपर्छ भन्ने मेन्टालिटी बनाएका थियौ । दुःखको खासै फिल भएन ।