‘ज्वाईं’ हरुलाई ५ सल्लाह

कर्साङ लामा ।

यतिबेला सवैभन्दा चल्तीको शब्द भएको छ, ‘ज्वाई’ । खासगरी ‘गुठी’ विधेयक विवादको उत्कर्षमा पुग्दैगर्दा यो आदरार्थी शब्दले ‘मार्केट’ लिएको हो ।

नेवार समुदायका एक दर्जन शक्तिशाली ज्वाईंहरुको सोच, विचार र निर्णयमा गुठी विधेयक आएको र विधेयकले नेवारी संस्कृतिमाथि धावा बोलेको आरोपका साथ ती ‘ज्वाईं’ हरुको चर्चा चुलिएको हो । ज्वाईंहरु मध्ये प्रधानमन्त्री सबैभन्दा ‘भिआईपी’ सदस्य हुने नै भए ।

खास भन्नेहो भने यतिबेला मुलुक नै नेवारका ‘ज्वाई’ हरुले चलाईरहेका छन् । जस्तो प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा, उर्जामन्त्री गोकर्ण बिष्ट, ५ नं. प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, तत्कालीन एमालेका कार्यवाहक महासचिव तथा पूर्वमन्त्री अमृत बोहोरा लगायतका धेरै नेताहरुले नेवारकी छोरीसँग प्रेम विवाह गरेका छन् ।

नेवारको ‘ज्वाई’ भएर पनि नेवारी समबेदना बुझ्न बाँकी रहेको भन्दै खरो विरोधमा उत्रिए, उनीहरु । तर, ‘ज्वाईं’ हरु अहिले पनि जोरी खोज्ने हिसावमा गुठी बिधेयकबारे दम्भको गन्ध फालिरहेका छन् । अझै उनीहरुले भेऊ पाउन सकेको देखिन्न, गुठीयारहरु कति शक्तिशाली छन् भन्ने । गुठीयार सडकमा उत्रेका दिन सरकार फाल्ने र ढाल्ने ल्याकत राख्छन् भन्ने सामान्य हेक्का पनि ‘ज्वाईं’ हरुले अझै राख्न सकेको देखिएन । त्यसैले यी अबुझ ‘ज्वाईं’ हरुलाई केही सल्लाह दिने विचार गरेर लेख्न बसेको छु ।

सल्लाह नं. १
धार्मिक सांस्कृतिक सम्वेदनामा हमला नगर:
– यस पटक मात्र होइन इतिहासबाट पाठ सिक्न सकेको भए बेस हुन्थ्यो । पशुपतिमा भट्ट चलाएर तत्कालीन माओवादीले ‘हन्डर’ खानुपरेको विगत किन बिर्सेको ? बाबुराम भट्टराईले इन्द्रजात्रालाई चलाउन खोज्दा हुन खोजेको बबाल किन बिर्सेको ? यस खाल्टोमा नेवार र तामाङहरु साँच्चै रिसाए भने त्यो पारो घटाउन सकिन्न भन्ने हेक्का किन नराखेको ? धर्ममा, संस्कृतिमा, पहिचानमा र ‘इगो’ मा कसैलाई पनि चिमोट्ने काम नगर्नु । त्यसले दुईतिहाई होइन, जतिसुकै शक्तिशालीलाई पनि उडाइदिनसक्छ ।

सल्लाह नं. २
कब्जाको मानसिकताबाट मुक्त हौं:
– माओवादीहरुले पनि कब्जाको सपना देखेका थिए । आज नेकपाको सरकार पनि बैधानिक कब्जाको ध्याउन्नमा देखिन्छ । हरेक संघ–संगठनको निर्वाचन देखि लिएर संबैधानिक नियोगहरुमा आफ्नो हालिमुहाली स्थापित गर्न खोज्नुको मतलव अर्को छैन । जनताले औंला ठड्याए भने त्यसबाट जोगिन धेरै गाह्रो पर्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि कच्चा किसिमले नै सही मुलुक कब्जा गर्न खोजेकै थिए । तर, इच्छा राखेर मात्र हुन्न रहेछ । शासन भनेको बढीभन्दा बढी जनताको सहभागितामा मात्र सफल हुन्छ भन्ने सामान्य ज्ञानको विकाश गरौं ।

सल्लाह नं. ३
बहुमतको दम्भ नदेखाऊ:
– भयंकर बहुमत आफैंमा गौरव गर्न लायक संख्या हो । विश्वास गरेका हुन् जनताले । तर विरोधमा आउनेहरुलाई राजावादी, कांग्रेस, फटाहा, सामान्ती आदि देख्न थाल्ने हो भने एकदिन एकजना पनि सदस्य नेकपामा बाँकी नरहन सक्छन् । जनमत भनेको हावाहुन्डरी जस्तै हो । त्यो कहाँ ठोक्किएर कहाँ पस्छ भन्ने जानकारी मौसम विज्ञलाई पनि हुन्न । त्यसकारण आगो, पानी र जनतासँग हेलच्याक्रे नगर ।

सल्लाह नं. ४
समृद्धिको नारामा केन्द्रीत हौं:
– बहुमतको सरकार बनेपछि धेरैले प्रत्यक्ष वा परोक्षरुपमा दीपावली मनाएका थिए । अझै समय घर्किसकेको छैन । लाइनमा आउने र चेत खोल्ने समय पनि सकिईसकेको छैन । तर, अब पनि ढिलो गरेर हुन्न । विकास निर्माणमा केन्द्रीत गर्न सकिएन भने जनताले माफ गर्दैनन् । पानी, विजुली, कृषिमा आत्मनिर्भर, पर्यटन लगायतका विषयमा आम जनतालाई सँगै लिएर हिँड्ने मन्त्रहरु छन् । त्यस्तो मन्त्र खोज, जहाँ जनताको प्रत्यक्ष संलग्नता होस् । भाषण गर्ने, आशा देखाउने र पछी बिर्सने परम्परामा विश्वास नगर ।

सल्लाह नं. ५
गुटभन्दा माथि उठेर टिम बनाऊः
– प्रधानमन्त्रीको औपचारिक तथा अनौपचारिक सल्लाहकारदेखि मन्त्रीहरुका काम र व्यवहार जनताले मन पराएनन् । कतिपय मन्त्रीदेखि ‘इरिटेसन’ भएको छ, जनतालाई । जस्तो प्रधानमन्त्रीका प्यारा सञ्चारमन्त्री प्रति आम बितृष्णा देखिन्छ । सडक, मिडिया, सामाजिक सञ्जालदेखि चिया पसलसम्म सञ्चारमन्त्री प्रतिको बितृष्णा सुन्न पाईंन्छ । परम्परागत टीम बोकेर कहीँ पनि पुगिनेवाला छैन । त्यस्ता प्याराहरुलाई अन्यत्रै ‘सेटल’ गर्दा हुन्छ, र, कार्यकारी पदहरुमा रिजल्ट माग्न सक्नुपर्छ प्रधानमन्त्रीले । जो आजसम्म देखिन सकेको छैन ।

फटाहालाई फटाहा भन्ने आँट गरेको खण्डमा त्यो भन्दा ठूलो जनभावना केही हुन्न । जनमत कसैको पेवा हुँदैन । यति हेक्का राखेर अघि बढे पुग्छ । अर्को कुरा बिन्ती छ, प्रधानमन्त्री ज्यू, भर्सक नबोल्नुस् । बोल्नु नै हुन्छ भने त्यसलाई पुरा गरेरै छोड्नुहोस् ।