टनकपुर सन्धि भएको २६ वर्षपछि पानी पाउँदै नेपाल

टनकपुर सन्धि भएको २६ वर्षपछि पानी पाउँदै नेपाल


नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य सुरु भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि नहर निर्माणमा ढिलाइका कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिदेखि परीक्षण गर्नका लागि पानी छोड्न थालिएको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर भोलि बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । 

लामो समय भारतले आफ्नो भूमिमा बनाउनुपर्ने मूल नहर निर्माणमा चासो देखाएको थिएन । तर केही वर्ष अगाडिदेखि नहर निर्माणमा भारतीय पक्षले चासो देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो । 

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तररूपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट २८ दशमलव ३५ क्युम्याक्स पानी उपलब्ध गराउने सहमति भएको थियो । काम गर्दै जाँदा २६ वर्षपछि नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ । अहिले निरन्तर पानी परीक्षण भइरहेको छ । भोलि असार १५ गते धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर पहिलो पटक नेपाली खेतमा पानी पुर्‍याएर रोपाइँ गर्ने कार्यक्रम राखेका छौं । २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुसी लागेको छ ।’

आयोजना निर्देशक बमले नेपाल–भारत सन्धि भएको झन्डै २७ वर्षमा मूल नहरको १८ दशमलव ५ किलोमिटर क्षेत्रमा मात्रै मूल नहर निर्माण सम्पन्न भएको बताउनुभयो । ब्रह्मदेव क्षेत्रबाट एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने काम भइरहेको उहाँको भनाइ छ । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको पनि बताउनुभयो । 

सन् २०२२ सम्म मूल नहर निर्माणसम्पन्न गरिसक्नुपर्ने भनिए पनि पूरै काम सकिने सम्भावना कम देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८ दशमलव ३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८ दशमलव ५ क्युमेक्स पानी प्राप्त गर्नेछ । मूल नहरसँगै शाखा नहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछ भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा शाखा विस्तार गरिनेछ । 

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो । 

Logo