दिल्लीमा दर्दनाक घटना, नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या
दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएकी लक्ष्मी चदाराको दिल्लीमै अन्तिम दाहसंस्कार गरिदैं । तस्बिरः सुधन महत ।

बाजुरा । भारतको नयाँ दिल्लीमा एउटा दर्दनाक घटना बाहिर आएको छ । पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या भएको घटना बाहिर आएको हो । बाजुराको बुढिगंगा नगरपालिका १ कुडी घर भई दिल्लीमा बस्दै आएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको बलात्कार प्रयासपछि हत्या भएको हो ।

सक्कपुरमा बुवा देब चदारा र आमासँगै बस्दै आएकी लक्ष्मीको गत शुक्रबार बलात्कार प्रयासपछि हत्या गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बलात्कारको प्रयासपछि हत्या गरेका हुन् । प्रहरीले सनुलाई पक्राउ गरी हत्या र बलात्कारको मुद्दा दर्ता गरेको छ ।

बुवा देब चदारा त्यसै घरको चौकीदारी गर्थे भने आमा त्यसै घरमा तिनै सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्। शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला पारेकी छोरीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेका थिए।

बालिकाको पोष्टमार्टमपछि आइतबार दिल्लीमै दाहसंस्कार गरिएको छ । उनले प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पोष्टमार्टम रिपोर्टमा घाँटीमा औला अड्काएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयासको प्रमाण भेटिएको प्रहरीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।