सिंगापुरसँग पराजित भएसँगै विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।

सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल पुरै २० ओभरमा अल आउट हुँदै १०९ रन मात्र बनाउन सक्यो । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहेको छ । सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपाल १०९ रनमै समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यस्तै १० बलमा १२ रन बनाउदैं कप्तान पारस खड्का क्याच आउट भए ।

दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । भने करण केसीले २ विकेट लिए । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।