सुदूरपश्चिममा बिषु मनाउन घर फर्कंदै नेपाली

सुदूरपश्चिममा बिषु मनाउन घर फर्कंदै नेपाली

केन्द्रबिन्दु
42
Shares

कैलाली । बिषु पर्वअर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन्। सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ।

हेल्प डेस्कका अनुसार उनीहरु भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्ली लगायतका विभिन्न सहरबाट फर्केका हुन्। चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ।

भारतको सुरतमा रोजगार गर्दै आउनुभएका कैलालीको ओलानीका राम टमटाले बिषु पर्व अर्थात् नयाँ साल मनाउन घर फर्केको बताए। “बिषु मनाउन घरपरिवार प्रतिक्षामा गरिरहेका छन्। हिउँदेबाली पनि भित्रयाउनु पर्यो। त्यहीँ भएर घर फर्किएँ”, उनले भने।

खेतीपाती भित्र्याउने समय भएको र बिषु पर्व पनि आइरहेकाले आफू भारतको बैंङलोरबाट आएको डोटीको दीपायलका राम जोशीले बताए। यसरी छिमेकीमुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन्।

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्रयाउने समयमा घर आउने यहाँको चलन छ। खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन्।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्दछन्।

बिना भिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने गरेको कारणले पनि नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य स्थान छिमेकी राष्ट्र भारत बन्न पुगेको हो।

बिषु पर्व अर्थात नयाँ वर्षका दिन तितेपातीले नुहाएर पूजाआजा गरी गतानि डुब्का, बटुक, माडालगायतका स्थानीय खानाका पकवान खाने प्रचलन रहिआएको छ।

Logo