मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन

मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम लाग्दा पनि सुक्खा स्थानमा पहिरो खस्न सक्ने भएकाले सचेत हुनुपर्ने विभागले जनाएको छ ।

विभागका मौसमविद् शान्ति कँडेलले सातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो देखिए पनि दिउँसो साँझमा कतिपय स्थानमा हल्कादेखि मध्यम पानी पर्ने र केही स्थानमा छोटो समयमा भारी वर्षा हुने जानकारी दिइन् ।

अछाममा केही दिन अघि आएको बाढीले ठुलो जनधनको क्षति पुर्याउँदा अन्य क्षेत्रमा घाम लागिरहेको उल्लेख गर्दै कँडेलले अन्य क्षेत्रमा खुला देखिए पनि केही क्षेत्रमा ठूलो पानी परेर जोखिम बढाउन सक्ने बताइन्। उनका अनुसार अहिले मौसम पूर्ण सक्रिय भने छैन । यो समयमा लगातार झरी पनि पर्ने छैन ।

वर्षा गराउने न्यून चापीय रेखा अहिले औसतभन्दा तल रहेको उल्लेख गर्दै उनले बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आएकाले मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । आइतबार दिउसो पनि सिन्धुली, दोलखा, दाङ तथा सुदूरपश्चिमका केही क्षेत्रमा पानी परेको उनले बताइन्।

विभागका अनुसार आगामी २४ घण्टामा प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल वा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

Skip This
Skip This
Logo