कार्तिकबाट वागमती नदीमा सफा पानी बग्ने

कार्तिकबाट वागमती नदीमा सफा पानी बग्ने

केन्द्रबिन्दु
0
Shares

वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिक महिनाबाट वागमती नदीमा सफा पानी बग्ने भएको छ ।  

काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि वागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । 

साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । 

आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए । उनले वागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए । 

धापबाट वागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको बताए । उनले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताए । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेपनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए । 

प्रमुख इन्जिनियर छतकुलीले धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताए ।  जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।  

‘पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउनेछौँ । एशियाली विकास बैंकको ऋण सहयोगमा शुरु भएको हो । धाप ड्याम निर्माण भएको हो । भ्याट बाहेक ४५ करोड, भ्याटसहित ५१ करोड हुन्छ ।  ८४ प्रतिशत ऋण र बाँकी १६ प्रतिशत नेपाल सरकारले व्यहोर्ने गरेर शुरु भएको छ । फिल्डमा गर्नुपर्ने कामहरु अधिकांश सकिएको छ । अक्टोबर १५ पछि वागमतीमा धापको पानी प्रवाह गर्ने योजना छ ।’ उनले भने,‘८ महिना ४० लिटर बगाउनसक्ने अनुमान छ । नागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने छौँ, त्यतिमात्रै पठाउँदा हामीले अनुभव गर्नसक्ने गरेर वागमतीमा पानी प्रवाह नहुने र हामीले यहाँबाट पठाएको अनुभव पशुपति आर्यघाटमा आम सर्वसाधारणहरुले पनि गर्ने गरेर पठाउनुपर्ने हुन्छ । हामीले पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा हामीले ४ सय लिटर नै पानी पठाउने हामीसँग औपचारिक रुपमा पत्राचार आएको छ ।’

प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताए ।

धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने वागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ । प्रश्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने सहजै अनुमान गर्न सकिन्छ ।   
 

Logo