साढे दुई वर्षअघिको मध्य कोरोनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएको भेन्टिलेटर चौथो लहरको कोरोना महामारी सकिँदासम्म सञ्चालन हुन सकेको छैन ।
भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने आवश्यक कर्मचारी नहुँदा प्रयोगविहीन बनेका हुन् ।अस्पतालको आर्थिक स्रोत नहुँदा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष ०७६र०७७ मा बजेट प्राप्त भएपछि आर्थिक वर्ष ०७७र०७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो । उपकरण भएर पनि जनशक्ति नहुँदा साढे दुई वर्षदेखि अलपत्र रहेको उनको भनाइ छ ।
प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६र७७ मा एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर, विश्वव्यापी कोरोना संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भयो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए ।
तत्कालिन समयमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोही आर्थिक वर्षभित्रै आईसिसियू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन । अस्पताल प्रमुख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको हो ।
कोभिड संक्रमितको उपचारलाई लक्षित गरी ल्याईएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहर सुरू हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् । भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पताल मार्फत पटक पटक जनशक्ति माग गरिएको थियो । हाल भने महंगीका कारण जनशक्ति ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।
अस्पतालमा भेन्टिलेटरसहित पाँच वटा आईसियू कक्ष सञ्चालन गर्ने तयारी गरिएको थियो । अहिले सोही ठाउँमा डायलाइसिस सेवा सुरू गरिएको हुँदा ठाउँ अभावका कारण पनि भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालनमा ल्याउन नसकिएको श्रेष्ठको भनाइ छ ।





























प्रतिक्रिया