समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
शनिबार भएको भेलाले उक्त आन्दोलनप्रति समर्थन जनाएको हो । उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीले सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैं भत्ता लगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गरेको जानकारी दिए ।
भेलाले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ ।
साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत स्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न आग्रह गरेको छ ।
अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरिएको छ ।





























प्रतिक्रिया