मृतकका परिवारलाई दुई/दुई लाख प्रदान

मृतकका परिवारलाई दुई/दुई लाख प्रदान

केन्द्रबिन्दु
0
Shares

कैलाली । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।

भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परिज्यान गुमाएका भजनी–८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले दुई/दुई लाखको चेक हस्तान्तरण गरेका हुन् ।

उनले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । भजनीका बाढी पीडितले रकम पाएपछि राहत महशुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । ‘बाढीले भजनीमा त्रास सिर्जना भएको छ । बाढीमा बगेका परिवारमा थप पीडा छ’–उनले भने–‘पीडामा राहत पाउँदा सरकार भएको अनुभूति पीडितले गरेका छन् ।’

भजनीमा बाढीका कारण १ हजार ६ सय ७१ परिवार विस्थापित भएका छन् । ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्। भजनी नगरपालिका र विभिन्न सङ्घसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए ।–रासस

Logo