राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् ।
शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकुलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको उनले बताइन् ।
राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘मुस्ताङवासी समाजसेवी, उद्योगी र प्रशासकहरुलाई एउटा आग्रह छ, यो जिल्लालाई जलवायु अनुकुलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक छ । अहिले जलवायु अनुकुलनमा कार्यक्रम सञ्चालन गर्नु, वातावरणमैत्री निर्माण कार्य सञ्चालन गर्नु र हाम्रो दैनिक जनजीवन पनि त्यो अनुसार गर्नु अत्यन्त आवश्यक छ । यदी भावि पुस्ताका लागि हामीले केही उपहार दिने हो भने हामीले वातावरणमैत्री विकास कार्यहरु, हाम्रो जनजीवनहरु, हाम्रो अर्थप्रणालीलाई त्यतापटि हामीले लैजानुपर्ने हुन्छ ।’
राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनले धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावि पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उदेश्य हुनुपर्ने बताइन् ।
ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ,प्रेदश र स्थानीय तहको समन्वयकारी भुमिका आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन् । मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार बिस्तारको नयाँ सम्भावना खोल्ने बताइन् ।































प्रतिक्रिया