राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् ।
विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका -३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन् । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन् । यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् ।
सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गरिन् ।
वैज्ञानिक अध्ययन अनुसन्धानका साथै आफ्नै आँखाले पनि जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा देख्न पाइएको उनको भनाइ थियो । वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन हिमालयन शेर्पा फाउन्डेसनले गर्नेछ । उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ ।
यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुनेहुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो ।
अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि रु ५० लाख रकम खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाडौँसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।































प्रतिक्रिया