बैतडी ।
बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोप छ । ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले भने, “नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान हुन्छ, आवश्यक देखिए मुद्दा चलाउँछौँ ।”
आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन् । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उनले बताइन् । उनले भनिन् , “वृद्धा आमा कान नसुन्ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौज गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट रहेको छ । अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवै जनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।
यसैबीच स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुर्व्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । उनले भने, “स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कारवाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ ।”रासस































प्रतिक्रिया