नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको छ ।
स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भएपनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको हुँदा सरकारसँग यस्तो माग गरेको हो ।
स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि पनि खाली नगराएकोले सो जग्गा खालि गर्नुपर्ने बताइएको छ ।
नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले आफूहरुले पटक–पटक सो जग्गा खाली गर्न भनेपनि अटेर गरिएको बताए । अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरुमाथि पटक-पटक धाकधम्की दिइएको र कार्यालय समेत तोडफोड गरिएको उनले बताए ।
स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गरे । अध्यक्ष भण्डारीले बिहीवार नेपाल स्काउट केन्द्रिय कार्यालयको सुरक्षाको लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबर्जस्ती खोलेर तोडफोड भएकोसमेत बताए ।
नेपाल स्काउट जस्तो बालबालिका तथा युवा वर्गको समग्र वृत्ति बिकासको उद्देश्य सहित निरन्तर अगाडि बढिरहेको विशुद्ध सामाजिक संस्थामाथि पटक-पटक सत्ता र शक्तिको दुरुपयोग गरेर हुँदै आएको र तोडफोड, जोर जबरजस्ती र गैर कानूनी हर्कतप्रति स्काउटले आपत्ति जनाएको छ ।





























प्रतिक्रिया