भनिन्छ खाने मुखलाई जुँगाले छेक्दैन । मानिस जति नै बुढो नै किन नहोस् अनि घरमा जति नै कमाउने मानिस किन नहोस् आफू बाच्नका लागि उ आँफै संघर्ष गर्न खोज्छ । अनि गर्छ पनि ।
बस उसमा काम गर्ने जोश जाँगर, इच्छाशक्ति छ भने उसलाई कसैले पनि रोक्न सक्दैन । चाहे जस्तो परिस्थितिलाई सहेर उसले काम गरिरहेको हुन्छ । अनि जति उमेर घट्दै गयो उति उसको मनस्थितिले काम गर्न छाड्छ । हातमा सिप र काम गर्ने मन भएआफू खान र बस्नको लागि केही गाह्रो हुँदैन । जानेको सिपलाई सदैव प्रयोग गर्न सकिन्छ ।
बस उसमा काम गर्ने जोश जाँगर, इच्छाशक्ति छ भने उसलाई कसैले पनि रोक्न सक्दैन । चाहे जस्तो परिस्थितिलाई सहेर उसले काम गरिरहेको हुन्छ ।
आफूले सकुन्जेल काम गर्ने सोच पनि केही व्यक्तिमा हुन्छ । केही भने अब बुढो भैसके के काम गर्नु र भन्नेतर्फ लाग्छन् । काठमाडौं सहरको भिड अनि बाटामा आएको धुलो । वरिपरी थरीथरीका मानिस हिँडिरहेका हुन्छन् । कोही आफ्नो गन्तव्यमा पुग्नको लागि गाडी पर्खिरहेका हुन्छन् त कोही आफ्नै व्यापार सम्हालिरहेका हुन्छन् । बाटो हिड्ने मानिसले पनि झट्ट आफूलाई मन लागेको सामान खरिद गर्छन् नत्र हेरेरमात्र भए पनि चित्त बुझाउँछन् । अनि जान्छन् आफ्नै गन्तव्यतिर । त्यही सडकमा विभिन्न डर त्रासमा संघर्ष गर्नेमध्येकी एक हुन् काली राउत (बुढा) ।
जुम्ला घर भएकी काली काठमाडौं आएको मात्र एक वर्ष भयो । काठमाडौं कहिले नदेखेकी काली, अनि बिरामी श्रीमान् । श्रीमान्लाई उपचार गराउनका लागि पहिलोपटक काठमाडौं आएकी कालीलाई सहर एकदम अनौठो लाग्यो । यहाँका मान्छे अनौठो लाग्यो । सबै अनौठो लाग्यो । सहर आएको दिनको कुरा सम्झिदै उनी भन्छिन्,‘ मैले कहिले काठमाडौं देखेकी थिइन । म आउने पनि थिइन होला बड्डा (बुढा) बिरामी भएर आया हुँ । अनि म पनि यहीँ काम गरेर बस्ने निर्णय गरे । अनि अहिलेसम्म यही बानेश्वरको सडकमा बसेर काम गरिरहेकी छु ।’ उनी आफ्नो (जुम्ला) मा पाइने जडिबुटी, अल्लाले बुनेको टोपी तथा अन्य सामान (पानी, औंठी, चुरोट, गुट्खा…आदि बेच्न राख्छिन् । त्यो सबै सामान उनका श्रीमान्ले जुटाइदिने हो । बस् उनी त उनका श्रीमान्ले जति मा बेच् भन्यो उतिमै बेच्ने हो ।
काली राउत अहिले ४७ वर्षकी भइन् । २२/२३ वर्षको उमेरमा जुम्लाकै गोरख बुढासँग विहे गरिन् । तर, विवाह गरेर पनि सहज कहाँ भयो र उनलाई । श्रीमान् कमाउनका लागि कहिले भारत त कहिले कता जान्थे । उनले एक्लै घर सम्हालिन् । त्यति बेलाको दुःख सम्झिँदा उनले सबै छोरी मान्छेलाई आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न आग्रह गरेकी छिन् ।
उनका ४ छोरी र २ छोरा छन् । एउटा छोरा सुरक्षा निकायमा काम गर्छन् । एउटा छोरो १० कक्षामा अध्ययन गर्दैछ । २ छोरीको विहे भैसक्यो बाँकी रहेका २ जना भने जुम्ला मा नै पढिरहेका छन् । उनी पनि गर्मी महिना लागेपछि घर गइन् र अन्न बाली थन्काइ सकेर आइन् ।
‘छोरा जागिरे छ तर के गर्नु उसले आफ्नो परिवार मात्र पालेको छ हामी आफ्नै लागि संघर्ष गरेका छौं । कोटेश्वरमा डेरा लिएर बसेका छौँ ।’
भन्छिन्, ‘जाडोमा त कहाँ बस्न सकिन्छ र गाउँमा जाडो महिना लागेपछि यहाँ आया हुँ । अब यहीँ काम गर्ने हो । छोरा जागिरे छ तर के गर्नु उसले आफ्नो परिवार मात्र पालेको छ हामी आफ्नै लागि संघर्ष गरेका छौं । कोटेश्वरमा डेरा लिएर बसेका छौँ । त्यो डेराको पैसा र खाना खर्च हामी २ जनाले कमाउँछौं । तर, के गर्नु नगर प्रहरी आाएर लखेट्छ बस्नै दिँदैन ।’ उनी मात्र होइन, उनका श्रीमान् पनि त्यही सडकमा बसेर सुइटर बुनिरहन्छन् । झन् उनी १४ वर्ष अगाडिनै सडकमा आएर संघर्ष गरी जीवन जिउन सिके । उनी भन्छिन्, ‘बिहान १० बजेबाट दिनभरी बस्छु । दिनमा सरदर ५ सय रुपैयाँ कमाइ हुन्छ । धेरैजसोले मूल्य सोध्ने तर नकिन्ने पनि गर्छन् । बिक्री भएको पैसाले भोलिको सामान पनि किन्नै पर्यो । बेलुकाको लागि तरकारी किन्नै पर्यो । एउटा धोती फेर्न पनि आवस्यक रकम जोहो गर्न सकिएको छैन ।
‘मलाई लाग्छ यो सहर त धनी र हुने खानेहरुको मात्र हो । हामीजस्ता गरिब जनताको वास्ता नै गर्दैन सरकार । नत काम गरेर खान नै दिन्छ । त्यसैले हामी बस्ने त ठाउँ नै छैन ।’
यो सहर त धनीहरुको मात्र रहेछ…
उनी पहिलो पटक काठमाडौं आउँदा सब नयाँ लाग्यो । कोही पनि नचिनेकी, सबै विरानो । परिचित त केबल आफ्नै श्रीमान् मात्र । उनका श्रीमानको उपचारका लागि आएकी उनको पनि कर्मथलो विरानो सहर नै बन्यो । भन्छिन्,‘काठमाडौं आउँदा कसैलाइै चिनेकी थिइन । पहिले पहिले त कति हराएँ । कोठा नचिनेर कहाँ कहाँ गए । तर पछि चिन्दै गएँ । हामी जस्तालाई बस्ने ठाउ नै कहाँ छर । नगर प्रहरीको डर, चोरको डर, गाडीले हान्छ कि भन्ने डर । मलाई लाग्छ यो सहर त धनी र हुने खानेहरुको मात्र हो । हामीजस्ता गरिब जनताको वास्ता नै गर्दैन सरकार । नत काम गरेर खान नै दिन्छ । त्यसैले हामी बस्ने त ठाउँ नै छैन ।’
साँच्चै उनी जस्ता हरेक आमा वुबा सहरमा यसै भनेर बसिरहेका छन् । बिहान बेलुका काम गरेर छाक टार्नेहरु सडकमा व्यापार गर्न नपाएर झन् पीडा खेपिरहेका छन् । सहरमा कोही आफ्नै सपना बोकेर आएका हुन्छन् त कोही काम गरेर आफ्नो ज्यान पाल्न आएका हुन्छन् ।





























प्रतिक्रिया