मानिस सबै आफ्नो ठाउँमा संघर्ष गरिहन्छन् । बाँच्नका लागि उनीहरु जे काम पनि गर्न तयार हुन्छन् । अनि गर्छन् पनि । तर, कोही मानिस यस्ता पनि हुन्छन् जो पैसाका लागि भन्दापनि समय विताउन सडकमा आएर बसेका हुन्छन्, केही सामान आफ्नो साथमा राखेर । सुन्दा अचम्म लाग्न सक्छ, यस्तो पनि हुन्छ ? काम त पैसा कै लागि गर्ने होनि । तर, कोही व्यक्ति यस्ता हुन्छन् कि घरमा बस्दा दिक्क लागेर थोरै भएपनि व्यापार हुन्छ/हुने आशकासाथ समय बिताउन बसिरहेका हुन्छन् । तर, उनीहरुको मनमा व्यापारको आशा भने अलिकति पक्कै रहेको हुन्छ ।
बसन्तपुरको दरबारक्षेत्रमा एक वृद्ध हातभरी नेपालको झण्डा बोकेर बसिरहेको भेटिन्छन् । उनको एउटा हातमा ठूलो झण्डा हुन्छ भने अर्को हातमा साना साइजका झण्डा हुन्छन् । जे होस् उनको हात खाली भने हुँदैन ।
ती हुन् ७८ वर्षीय प्रेमलाल श्रेष्ठ । वरिपरी घुम्न आएका मान्छेहरु पनि पे्रमलालले बोकेका झण्डाको साथमा फोटो खिचेर आनन्द लिइरहेका देखिन्छन् । उनीहरु प्रेमलालको साथमा आएर फोटो खिचिहाल्छन् ।
जन्मस्थान भक्तपु्र भएतापनि बानेश्वरमा बस्दै आएका प्रेमलाल २०३५ सालदेखि दरबार क्षेत्र काल भैरवको मूर्तिअगाडि बसेर नेपालको राष्ट्रिय झण्डा बेच्दै आएका छन् । उनी बिहान खाना खाएर झण्डा बेच्न दरबार क्षेत्र आइपुग्छ्न् । अनि सँधै झै काल भैरवको मूर्तिअगाडि आएर बस्छन् ।
उनी दिनभरी त्यहाँ बस्दा हरेक किसिमका मानिसहरुलाई नियालेका हुन्छन् । कोही विदेशी हुन्छन् कोही भर्खर मात्र काठमाडौं आएका नेपाली हुन्छन् । कतिपय तसँधै आइरहने पनि हुन्छन् । मानिसहरुको ओहोर दोहोर चलिरहेपनि उनको झण्डा किनिदिनेहरु भने थोरै मात्र हुन्छन् । दिनभरीमा ५ देखि ७ वटा मात्र झण्डा बिक्छ । कहिले त्योभन्दा बढी पनि बिक्ने गर्छ । झण्डा किन्नेहरु कि त विदेशी कि त पहिलो पटक काठमाडौं आएकाहरु हुन्छन् । तर, कहिलेकाही उनको दिन त्यसै बित्छ । केही नहुँदा पनि बिहानदेखि बेलुकासम्म दरबार क्षेत्रमै रहन्छन् । यो काम त उनको जागिर जस्तै भैसकेको छ ।
प्रेमलाल ३ भाइमध्येका माइलो छोरा हुन् । अहिले उनी छोरा, बुहारी र श्रीमतीका साथ बानेश्वरमा बस्दै आएका छन् । उमेरले ७८ वर्ष पुगेपनि उनको मनोबल कम भएको छैन । उनी भन्छन्,‘ मैले यहाँ झण्डा बेच्न थालेको झण्डै ४५ वर्ष भैसक्यो । मेरा २ छोरा र ३ छोरी छन् । २ छोरीको काठमाडौं मै विवाह भएको छ भने एउटी छोरी र एउटा छोरा देश बाहिर छन् । मलाई पनि बोलाइरहन्छन् तर म जाँदिन पहिला नै काब्बु भएर आएको हुँ । पहिला म अमेरीकामा धेरै समय बसे । पछि फेरि त्यहाँ बस्नै मन नलागेर यहाँ आएर झण्डा बेच्न थाले । पैसाको लागि भन्दा पनि दिन बिताउन आएको हुँ । घरमा बसे पनि त्यतिकै दिन जान्छ । पहिलादेखि नै यही गरेर होला यही काम गर्न मन लाग्छ । वरिपरिको दृश्य नियाल्न मन लाग्छ । भिडमा हराएका व्यक्तिहरुसँग मन खोलेर कुरा गर्न मन लाग्छ । मनका कुरा भन्न मन लाग्छ । उनीहरुसँग रमाउन मन लाग्छ ।’
४ दशकभन्दा बढी त्यो ठाउँमा बसेका उनले सबै कुरालाई नियालेका छन् । कोरोना महामारीदेखि अन्य भाइरसको अनुभव गरेका छन् । वसन्तपुर, न्युरोडको भिडभाड भित्र आफ्ना काममा व्यस्त रहेका हरेक मानिसलाई नियालेका छन् । उनीहरुले गरेका दुःख देखेका छन् । उनीहरुको मनोबल पढेका छन् । उनीहरुसँग कुरा गर्ने मौका पाएका छन् । आफूले भोगेका कुराहरु एकआपसमा बाँड्न पाएका छन् । उनीहरुसँग दुःख सुखका कुरा गर्छन् ।
उनले सिङ्गो काठमाडौं आफ्ना आँखाले नियालेका छन् । खान नपाएर भोकभोकै काठमाडौंमा छटपटिएका मानिस देखेका छन् । यति मात्र हैन, दुःखका बावजुद पनि एक छाक खान र लाउनका लागि काम गरिरहेका मानिसहरुको अनुहार छर्लङ्ग पढेका छन् । यस्तो लाग्छ कि उनी उनीहरुसँग नै दिन कटाइरहेका छन् । त्यहाँ घुम्न आउने जो कोहीसँग सम्बन्ध गँस्न अनि चिनजान गर्न अघि बढिहाल्छन् ।
उनका छोराछोरी आफ्नो साथमा नभएता पनि उनी आफै काम गरेर आफै मेहेनत गरेर खान चाहन्छन् । संघर्षलाई जीवनको एक अध्यायको रुपमा चिनेका छन् । अरुले जे गरे पनि आफूले के गर्दैछु आफैमा भर पर्ने कुरामा उनी ढुक्क हुन्छन् । उनी भन्छन्, ‘फुटपाथमा झण्डा बेचेर गुजारा चलाउन सक्ने अवस्था अहिले छैन । दिनको ५/६ वटा झण्डा बेच्न पनि मुस्किल पर्छ । त्यो पनि स–साना नानीहरु आएर किन्छन् ।’ संविधान दिवस, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवसमा सबैजना झण्डा बन्ने ठाउँबाट होलसेलमा लान्छन् । अरुले किन्ने चासो गर्दैनन् । अनि कहाँबाट बिक्री हुनु मेरो झण्डा । मछिन्द्र बहालबाट झण्डा किनेर २० रुपैयाँ नाफा गरेर त बेच्छु । एउटा झण्डा ११० रुपैयाँदेखि ४०० रुपैयाँमा बेच्छु । जाडोको समयमा मान्छेहरु बढी आउने भएकाले व्यापार पनि बढी नै हुन्छ । गर्मीको समयमा खासै मान्छेहरु आउँदैनन् । कोहीचाहिँ झण्डासँग फोटो खिच्न माग्छन् र चिया खाने पैसा दिएर जान्छन् । झण्डा फरफराएर टिकटक बनाउँदा/फोटो खिच्दा मलाई पनि रमाईलो लाग्छ ।’ उनले झण्डासँगै ढाका टोपी पनि बेच्नका लागि राखेका छन् । ढाकाटोपीबाट चाहिँ अलिक बढी फाइदा हुने उनी बताउँछन् ।
मानिस जति नै बुढो भएपनि काम गर्ने इच्छा शक्ति कमजोर बनाउन हुन्न भन्ने मान्यता बोकेका मानिस हुन प्रेमलाल । समाजमा प्रेमलालजस्ता अरु पनि धेरै मानिस छन् जसले आफ्नै मेहेनत र कमाइले जीवनलाई सुखमय बनाइरहेका छन् ।































प्रतिक्रिया