सोमबार साँझ खोटाङको केपिलासगढी गाउँपालिका–५ बाक्सिलाका व्यवसायी दीपक गुरुङको घरबाट आगलागी सुरु भयो । शान्त बजारमा एकाएक कोकोहोलो मच्चियो । बास बस्नेबेलाको आगोले क्रमशः रमेश परियार, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ घर छिनभरमै खरानी बनायो । बजार नै ध्वस्त हुने अवस्थामा अकबर राईको घर स्काभेटर लगाएर भत्काइयो ।
कपडा, भाँडाकुँडा, कपडा, स्टेशनरी, होटल सञ्चालन भइरहेका घरहरु जलेपछि स्थानीय र प्रहरी आगो निभाउन जुटे । कोही ज्यानको बाजी लगाएर घरभित्रको पसलका सामानहरु पाखामा निकाल्न थाले । कोही खानेपानीको पाईप काटेर आगोको लप्कातिर हान्न थाले, कोही जमिन खोतलेर आगोमा माटो फ्याँक्न तल्लिन भए । तर, त्यही विपत्तीको समयमा पसलबाट बाहिर निकालिएका कतिपय सामान चोरी भएको व्यवसायी बताउँछन् ।
बाक्सिलामा पसलको सामानका प्याकेटदेखि कपडा, काँसका थालबटुका, ग्याँसको सिलिण्डर समेत चोरी भएको चर्चा छ । बाहिर निकालिएको सामानमध्ये कतिपय सामान नभेटिएको आगलागी पिडित रमेश परियार बताउँछन् । ‘हामीलाई सामानमा ध्यान गएन । सामान निकाल्नमा मात्र ध्यान गयो,’ परियारले भने, ‘सानोतिनो काटुनको सामान केही मात्रामा लगेको हुनसक्छ, पछि खोज्दाखेरी भेटिएन ।”
आपतविपतका बेला उद्धारको नाममा कतिपय ठाउँमा चोरी गरेका घटनाहरु वारे धेरैजसो जानकार छन् । बाक्सिलाको आगलागीका क्रममा पसलबाट निकालेर यत्रतत्र पाखामा छरिएका सामान चोरी हुनसक्ने आंकलन पहिल्यै गरिएको थियो । चोरी हुने आशंकामै एक जना प्रहरी जवानलाई भिडियो खिच्न लगाएको केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राई बताउँछन् ।
‘हामीले धेरै ठाउँमा यस्ता घटना देखेका छौँ । सहयोग गर्ने निहुमा छ्यापछ्याप्ती चोरी गर्ने । त्यही भएर हामीले एक जना प्रहरीलाई भिडियो खिच्न लगाएका छौँ । हामी भिडियो अलवोकन गर्छौँ,’ राईले भने, ‘बिहान आएर सुन्दा तीन चारवटा सिलिण्डर र अन्य सामान चोरी भयो भन्ने सुन्यौं । तर, यसलाई खोजी गर्छौँ ।”
खोटाङको उत्तरी क्षेत्रको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको बाक्सिला बजारमा आगलागी हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । पाँच घर पूर्णरुपमा भग्नावशेषमा परिणत भएको छ । एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् ।
उद्धारमा ग्याँस सिलिण्डर बाधक
अहिले अधिकांश घरको भान्छामा ग्याँस सिलिण्डरको प्रयोग हुन थालेको छ । दुई–चार थान सिलिण्डर जगेडासमेत राखिन्छ । तर, आगलागीपछिको उद्धारका क्रममा त्यही ग्याँस सिलिण्डर वाधक बनिरहेको छ । सिलिण्डर पड्किँदा आगो उछिट्याएर परपर पुर्याउने, आगो झन दन्किने र थप क्षती पुग्ने गरेको उद्धारकर्मीको अनुभव छ । ग्याँस सिलिण्डर पड्किने डरले उद्धारकर्मी हच्किने गरेका छन् ।
दमकलको खाँचो
बाक्सिला बजारमा दमकल भएको भए पनि आगो नियन्त्रण गर्न सहज हुन्थ्यो । तर, गाउँपालिकासँग हालसम्म दमकलको व्यवस्था छैन । केपिलासगढी गाउँपालिकामा मात्र नभएर जिल्लाका अन्य स्थानीय तहको केन्द्रमा कम्तीमा एउटा दमकलको खाँचो देखिन्छ । तर, दमकल खरिद गरेर तयारी अवस्थामा राख्ने विषयमा स्थानीय सरकारको ध्यान पुग्न सकेको छैनन् ।
पीडितको सहयोगमा हातेमालो
बाक्सिला बजारको पुःननिर्माणका लागि पालिकाबासीले अभियान थालेका छन् । गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राईको संयोजवकत्वमा २१ सदस्यीय बाक्सिला बजार अग्निपीडित राहत संकलन समिति बनाएर आगलागी पीडितको सहयोगार्थ अभियान थालिएको छ ।
आगलागीबाट घर तथा सम्पूर्ण धन सम्पत्ति गुमाएर विस्थापित भएका पीडितको सहयोगार्थ प्राप्त हुने रकमलाई एउटै खातामा जम्मा गर्ने र वितरण गर्नेगरी समिति बनाइएको हो । उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीको अगुवाईमा मंगलबार चार लाख ५५ हजार ९५ रुपैयाँ संकलन गरेर आगलागी पीडितलाई प्रदान गरिएको छ ।
घटना लगत्तै गाउँपालिकाको बैठकले आगलागी पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । यस्तै, गाउँपालिका अध्यक्ष समिर राईको संयोजकत्वको विपद व्यवस्थापन समितिले पनि आगलागी पीडितको राहतका लागि प्रदेश र संघीय सरकार तथा अन्य दातासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
पीडितको सहयोगार्थ गाउँपालिकाका शिक्षक तथा कर्मचारीले दुई–दुई दिनको तलब दिने निर्णय गरेका छन् । जनप्रतिनिधिले पनि कार्यपालिका बैठकबाट सहयोगको निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई संयोजकत्वको जिल्ला विपद व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पनि आगलागी पीडितको राहत तथा क्षतिपुर्तीका लागि संघ र प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।





























प्रतिक्रिया