राजनीतिक गुटबन्दीका कारण शोभराजको रिहाईमा ढिलाई -कानुन व्यवसायी

राजनीतिक गुटबन्दीका कारण शोभराजको रिहाईमा ढिलाई -कानुन व्यवसायी

केन्द्रबिन्दु
0
Shares

कानुन व्यवसायीहरुले ‘सिरियल किलर’ चाल्र्स शोभराजको रिहाईमा ढिलाई भएको बताएका छन । सर्वोच्च अदालतको फैसलासँगै केन्द्रिय कारगारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ । 

शोभराजको पक्षमा वकालत गर्दै आएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाईमा ५ वर्ष ढिलाई हुन गएको बताइन् । उनले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारगारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकीर समेत गरिन् । 

कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारगार भित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क समेत गरिन् । 

उनले भनिन्, ‘यो प्रोसेस चाँही फाईव इयर पहिले नै टुंगिनु पर्दथ्यो । प्रशासनि ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरुको खिचातानीको कारणले यो प्रक्रियामा लम्विन गयो । राजनीतिक दलहरुले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाई हुन गयो । अध्यादेश ल्याउने र आफ्नो मान्छे मात्रै छुटाउन खोज्दा चाल्र्स शोभराज मात्र नभई अन्य कैदीबन्दीहरु त्यसका मारमा परेका छन । यो पाली सुप्रिय कोर्टमा पनि राम्रो साहस देखाएको छ । मुटुको रोग लागेर उनको निधन हुने भएको कारणले यी सबै विषयबस्तुलाई पनि ध्यानमा राखेर सर्वोच्च अदालतले यो फैसला गरेको छ । उनलाई फ्रान्स नै पठाउने फैसला गरिएको छ । सुरक्षा चुनौतिलाई ध्यानमा राखेर उनलाई आजै राति फ्रान्स पठाउने तयारी हामीले गरेका छौं ।’ 

यसैबीच, वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताएका छन् । शोभराजको पक्षमा वकालत गर्दै आएका उनले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयम्ले पनि न्याय पाएको प्रतिक्रिया दिए । 

अध्यागमन विभागले आजै शोभराजलाई फेरी नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ ।

Logo