राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालसम्मका लागि राहदानी (पासपोर्ट)छपाइ तथा वितरण रोकेको छ।
गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य अनिश्चितकालका लागि रोकेको हो। विभागकी निर्देशकसमेत रहेकी प्रवक्ता दुरपदा सापकोटाले मंगलबार सूचना निकालेर सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्को सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको जानकारी दिइन् ।
‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,’ सूचनामा भनिएको छ। तर नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान मात्र पनि सचिवहरूलाई निर्देशन दिँदै राहदानीलगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न नभए कारबाही गरिने चेतावनी दिएका थिए। गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भिडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न चार सदस्यीय विज्ञ टोली अनौपचारिक रूपमा खटाएको थियो। ‘विज्ञ टोलीले अध्ययन गरिरहेको छ। यसबारे प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले भने। त्यसअघि गृहमन्त्री रवि लामिछानेले पनि राहदानी विभाग पुगेर अनुगमन गरेका थिए।





























प्रतिक्रिया