पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब ११ बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याउनासाथ गएराति सवा १२ बजे डाक्टरहरुले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए । मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए ।
ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन सकेको छैन । उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने सवारीलाई यथाशीघ्र पत्ता लगाइ नियन्त्रणमा लिने निष्कर्षसहित सडक खुलाइएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया