कोरोना नियन्त्रण गर्न तपाईंको ‘मास्क खै’ अभियान

कोरोना नियन्त्रण गर्न तपाईंको ‘मास्क खै’ अभियान

केन्द्रबिन्दु
0
Shares

खोटाङ ।

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईंको ‘मास्क खै’ अभियान शुरु गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतनामूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त आयोजनामा अभियान शुरु गरिएको हो ।

सरकारले लागू गरेको बन्दाबन्दी हटे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेकाले नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै तपाईंको मास्क खै अभियान शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए। “खोटाङमा कोरोना सङ्क्रमणमुक्त भएसँगै सर्वसाधारण मास्क नलगाइ हिँड्न थालेका छन्”, उनले भने,“बन्दाबन्दी हटेसँगै कोरोना भाइरसको सङ्क्रमण बढ्ने सम्भावना रहेकाले सर्वसाधरणलाई अनिवार्य मास्क लगाउनुपर्छ भन्ने उद्देश्यका साथ संयुक्त अभियान थालेका हौँ ।”

अभियानको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मास्क नलगाई हिँडेका सर्वसाधरणलाई निःशुल्क मास्कसमेत वितरण गरिएको थियो । जिल्लाका हरेक स्थानीय तहमा सञ्चालन गरिने अभियान सफल पार्न जनपथ र सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।

अहिले खोटाङ कोरोना सङ्क्रमणमुक्त भए पनि पुनः देखिन सक्ने भएकाले घरबाहिर हिँड्डुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, मास्क नलगाइ हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले बताए। “सरकारले लागू गरेको नियम उल्लङ्घन गरेको पाइएमा एक महिनासम्म कैद वा १०० जरिवाना वा दुबै सजायँ गरिनेछ”, उनले भने, “सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत काममा खटिएका आधिकारिक व्यक्ति तथा सुरक्षाकर्मीलाई काममा बाधा पुर्याउने व्यक्तिलाई छ महिनासम्म कैद तथा जरिवाना वा दुबै सजाय गरिनेछ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आजदेखि शुरु गरिएको अभियानलाई आगामी दिन पनि सञ्चालन गरिने बताइएको छ । अभियानलाई गाउँगाउँसम्म पुर्याउन मातहतका प्रहरी चौकीलाई निर्देशनसमेत दिइएको प्रजिअ पौडेलले जानकारी दिए।

सङ्क्रमणमुक्त भएसँगै जिल्लामा सञ्चालित होटल, पसल तथा बजार पूर्णरुपमा खुला भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको बन्दाबन्दी हटेपछि यातायातका साधनसमेत पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । जिल्लामा भेटिएका १२ जना सङ्क्रमित उपचारपछि सबैजना घर फर्किएका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एकजना बाहेक सबैजना वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका व्यक्ति हुन् ।रासस

Skip This
Skip This
Logo