श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर, भेरी अस्पताल उपचार हुँदै

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर, भेरी अस्पताल उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ । उनको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्रि चापागाईले जानकारी दिए । “घाँटी वरिपरी पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छ”, डा. चापागाईले भने, “उनको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रुपमा तनावमा हुनुहुन्छ ।”

कोहलपुर नगरपालिका–२ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा र छोरालाई आगो लगाउँदा घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको थियो । “बरु मलाई मात्रै आगो लगाइदिएको भए हुन्थ्यो, मैले छोरालाई बचाउन सकिन”, अस्पतालको शय्याबाट विकले भनिन् । कोठा थुनेर आफूलाई धेरै कुटपिट गरेपछि माइत जान हिँडेकी आफू र छोरालाई श्रीमानले पछाडिबाट पेट्रोल छ्यापेर आगो लगाइदिएको उनको भनाइ छ ।

कालिकोटबाट बसाइँसराइ गरी कोहलपुर–२ शक्तिनगरमा बसोबास गर्दै आएका भानुभक्त गलैँचाको व्यापार गर्ने काम गर्छन् । उनका अनुसार श्रीमानले हरेक दिनजसो झगडा र कुटपिट गर्दै आएका थिए ।

श्रीमती र छोरालाई आगो लगाएर फरार भएका भानुभक्तलाई भारतको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको छ । उनीविरद्ध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । 

Skip This
Skip This
Logo