नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयानका लागि भएको निर्वाचनको आजबाट मतगणना सुरु भएको छ।
निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। काठमाडौं उपत्यकाको निर्वाचन बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चलेको थियो। उपत्यका बाहिर भने माघ ६ र ७ गते निर्वाचन भएको थियो। काठमाडौं उपत्याकाभित्र बिहीबार ५८९, शुक्रबार ९८५ र शनिबार १०६८ गरी २ हजार ६ सय ४२ मत खसेको छ भने काठमाडौं उपत्यकाबाहिर ३ हजार ६५० मत खसेको छ।
१२ हजारभन्दा बढी सदस्य रहेको संघमा ६ हजार २ सय ९२ मत मात्र खसेको हो। एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये १२ पदका लागि मतदान भएको हो। त्यसैगरी एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचनमा डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा प्रगतिशिल समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल निर्वाचनमा उत्रिएका छन्। वर्तमान अध्यक्ष डा. लोचन कार्कीका अनुसार मतगणना पाँच वटा टेबलमा गरिने छ।





























प्रतिक्रिया