रूपन्देहीको भैरहवामा रोकेर राखिएको ट्रकमा बस र कार ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
आइतबार राती बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किदा अन्य दुइ जना घाइते भएका छन् । राती करिव साढे ३ बजे नेपाल आयल निगमको डिपो अगाडि सडकमा रोकेर राखिएको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी रहेका छन् । दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षिय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । त्यसैगरी, घाईते हुनेमा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे छन् ।
प्रहरीका अनुसार दुर्घटनाका समयमा बसका हेल्पर रहेका हरिश तिवारीले बस चलाएका थिए । घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस हेल्पर हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया