बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन, थप १५ जना पक्राउ

बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन, थप १५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

गत सोमबार गोंगबुमा यातायात मजदुरको आन्दोलनका क्रममा गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए ।  पक्राउ पर्नेमा काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राई छन् । उनीहरू ल्होत्से मलबाट मोबाइल चोर्दै गरेको भिडियोमा देखिएका हुन् ।

आगजनी र तोडफोडमा संलग्नहरु नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई र सिन्धुली घर भएका इन्द्र तामाङ छन् ।

धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका सह–चालक राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच, आन्दोलनका क्रममा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार यो समिति बनाइएको हो ।

समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीं) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

Logo