गाउँ नजिक स्वास्थ्य केन्द्र नहुँदा दार्चुलाकी सुरन्ती बोहोराले गर्भमै शिशु गुमाउनु परेको छ । सुत्केरी बेथाले च्यापेपछि ६ घण्टाको पैदल हिँडाएर स्वास्थ्य केन्द्रमा लगियो तर उनको कोखमा रहेको शिशुलाई बचाउन सकिएन ।
अपी हिमाल गाउँपालिका–३ क्षत्तिकी २२ वर्षीया सुरन्तीलाई गाउँमा स्वास्थ्य केन्द्र नहुँदा ६ घण्टा पैदल हिडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाइमा पु-याइएको थियो । तर, शिशुलाई भने बचाउन सकिएन ।
खण्डेश्वरी स्वास्थ्य चौकीकी सिनियर अनमी लालुदेवी रोकायाका अनुसार गर्भमै शिशु गुमाएकी बोहोरालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । प्रादेशिक अस्पताल सुर्खेतले सोमबार राति मृत शिशु निकालेको उनले बताइन् ।
अनमीले स्वास्थ्य सेवा दिने इकाइमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति नै चार घन्टा पैदलै हिँडाएर खण्डेश्वरीस्थित आधारभूत स्वास्थ्यचौकी पु-याइयो । तर, चिकित्सकको सुविधा नभएको त्यहाँ पनि सिनियर अहेव र सिनियर अनमीले प्रसूति गराउन सकेनन् । दुई दिनदेखि सुत्केरी बेथा लागेकी सुरन्तीको पेटमै शिशुको मृत्यु भएको सोमबार बिहान मात्र थाहा भएको सिनियर अनमी रोकायाले बताइन् ।
बोहोरालाई सोमबार साँझ मात्र राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत सेनाको हेलिकोप्टरमा सुर्खेत पठाइएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह बोहराले जानकारी दिए । उनका अनुसार अहिले बोहोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।





























प्रतिक्रिया