गुल्मीमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो

गुल्मीमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो

केन्द्रबिन्दु
0
Shares

रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो । 

नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका  घरधनीहरुलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरु आफैँ हटाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो ।

नगरपालिकाले तोकेका समयमा उक्त संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि नगरपालिकाले बाध्य बनेर डोजर प्रयोग गरी अव्यवस्थित रुपमा बनाइएका संरचना हटाउन सुरु गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । 

नगरपालिकाले अव्यवस्थित रुपमा सडक प्रयोग गरी बनाइएका पेटीहरु डोजरको माध्यमबाट हटाउन थालेपछि कतिपय घरधनीहरुले स्वयम् त्यस्ता संरचनाहरु हटाउन थालेका गरेका छन् । बजार क्षेत्रमा साँगुरो सडक र त्यसै सडकमा पनि सडकै मिचेर पेटी तथा नालीहरु बनाएपछि सवारी साधनका साथै सर्वसाधारणका लागि पैदल यात्रा गर्नसमेत समस्या परेको थियो । 

नगरपालिकाले एक साताभित्र बजार क्षेत्रमा कालोपत्र गर्नका लागि हाललाई ३० फिटको सडक मापदण्ड कायम गरेको उनले जानकारी दिए । यसैगरी नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बिजुली, केबुल तथा इन्टरनेटका पोल तथा तारहरुसमेत हटाइ व्यवस्थित गर्न सुरु गरेको छ । 

Logo