कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघले एक महिलामाथि आक्रमण गरी बेपत्ता बनाएको छ । शुक्रबार बेलौरी नगरपालिका–८ पचुईमा घाँस काटिरहेकी एक महिलामाथि आक्रमण गरेको हो । घरछेउमै घाँस काटिरहेकी ४२ वर्षीया गंगा चन्द बाघको आक्रमणपछि बेपत्ता छन् ।
बेपत्ता महिलाको खोजी गर्दा बाघले पुनः आक्रमण गर्न खोजेपछि प्रहरीले ६ राउन्ड हवाई फायर पनि गरेको छ । घटनास्थलमा ड्रोन क्यामरा पनि प्रयोग गरिएको छ । तर ड्रोन क्यामरामा बाघ तथा महिलाको कपडा र मंगलसूत्र (सुनको गहना) देखिए पनि महिला भने नदेखिएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानै बाघले आक्रमण गरेपछि बेपत्ता भएकी उनी साँझ अबेरसम्म फेला परेकी छैनन् । घरछेउकै खप्टी नालामा गाउँकै महिलासँगै घाँस काटिरहेका बेला बाघले उनीमाथि आक्रमण गरेको हो । अन्य महिलाले भागेर ज्यान जोगाएका छन् ।
घटना लगत्तैदेखि स्थानीय र प्रहरीले चन्दको खोजी गरे पनि साँझ अबेरसम्म फेला पार्न सकेका छैनन् । नालाकै झाडीमा बाघ लुकेर बसेकाले खोजी गर्न समस्या भएको सबडिभिजन वन कार्यालय कुन्डाले जनाएकाे छ ।





























प्रतिक्रिया