सुर्खेतमा आज छाउपडी मेला

सुर्खेतमा आज छाउपडी मेला

केन्द्रबिन्दु
0
Shares

यही जेठ १ गते सोमबार सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुने भएको छ। महिनावारी व्यवस्थापन सम्वन्धी विविध विषयमा जानकारी दिने उद्धेश्यले उक्त मेलाको आयोजना गरिएको हो। 

कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्था लगायत सरोकारवालाहरुको साझा मञ्चको रुपमा स्थापित कदम अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो। 

कदमको पूरा रुप मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स हो। सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरिएको उक्त सञ्जालमा हाल ३० भन्दा वढी संघसंस्था आवद्ध छन्। एलाइन्सले मर्यादित महिनावारी सम्बन्धमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

हरेक वर्ष मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गर्न लागेको हो। उक्त मेलामा छाउपडीसम्बन्धी जनचेतनामूलक देउडा खेल प्रतियोगिता तथा कदमको सद्भावना दुत समेत रहेकी कालाकार सुनिता बिसीको साँगीतिक प्रस्तुति रहने संयोजक अनिता ज्ञवालीले जानकारी दिइन्। 

कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै रहेको खुल्ला चौँरमा हुने कदमको सचिवालय संस्था सुस्वाका राजु तिरुवाले जानकारी दिएका छन्। तिरुवाका अनुसार कदमले विश्व महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने कर्णालीमैत्री नारा समेत तय गरेको छ।

अभियानका सदस्य संस्था केडका कार्यक्रम संयोजक सुमेस भट्टराईका अनुसार मेलामा छाउपडीसम्बन्धी जानकारी दिन विभिन्न स्टलहरु हुन्छन्।उनले भने, ‘यस्तो मेलामा सहभागीले महिनावारी तथा स्वच्छता सम्बन्धी धेरै कुराको जानकारी पाउँछन्।’  कदम अभियान अन्तर्गत सबै साझेदार संस्थाहरुको संयुक्त पहलमा उक्त मेलाको आयोजना गर्न लागिएको हो। 

Skip This
Skip This
Logo