बुटवल उपमहानगरपालिकामा सञ्चालित योजना कार्यान्वयनमा समन्वयको अभाव रहेको सरोकारवालाले बताएका छन्। बुटवलको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा योजना कार्यान्वयनमा समन्वय नहुँदा योजना समयमा पूरा नभएको बताइएको छ।
बुटवल उपमहानगरपालिकाले आज नगरका राजनीतिक दल, बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिसँग गरेको अन्तरक्रियामा सरोकालावालाले सङ्घ र प्रदेशबाट साना योजना ल्याउने र योजना दोहोरिने गर्दा अलमल हुने गरेको बताएका छन्।
दलका अध्यक्ष तथा प्रतिनिधिहरूले निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा त्यसको दोष सरकार र राजनीतिक दलहरूमाथि आइरहेको भन्दै समयमा योजना पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुझाव दिएका थिए।
बुटवलमा शिक्षा, स्वास्थ्यका क्षेत्रमा निजी र सरकारी क्षेत्रमै एकरूपता नभएको र सरकारी क्षेत्रले निजीले जसरी रकम असुल्ने गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्नतर्फ बुटवलले चासो दिनुपर्ने सुझाव दिएका थिए।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले विकासमा लय समात्दै गरेको र आर्थिक वर्ष पूरा हुँदै गर्दा बुटवलको विकासको नतिजा देखिने बताए। उनले बुटवलको समृद्धिमा आर्थिक क्षेत्रमा सक्रिय संस्थाको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले सहकार्य र समन्वय गर्नका लागि आग्रह गरे।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सबै राजनीतिक दल मिलेर बुटवलको विकासमा केन्द्रित हुनुपर्ने बताए। प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रशासनिक काम कारबाही चुस्त बनाउँदै जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा सुधार भएको र सहज भएको बताए।





























प्रतिक्रिया